२२ मंसिर २०७८, बुधबार

‘मसँग असन्तुष्टि पोख्नुपर्ने अवस्था छैन’


२०७४ मंसिर २१ गते भएको निर्वाचनमा दैलेख जिल्लाको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट अमरबहादुर थापाले १२ हजार पाँच सय ६७ मत ल्याएर निर्वाचित भए । संघीय व्यवस्था अनुसार पहिलो पटक स्थापित प्रदेशसभामा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न थापाले निर्वाचनअघि घोषणा–पत्रमार्फत विभिन्न प्रतिबद्धताहरू गरेका थिए । चुनाव जित्ने रणनीतिका साथ मतदातालाई आकर्षित गर्न गरिएका प्रतिबद्धता कार्यान्वयनको अवस्था कस्तो छ ? तन्नेरी चासो सुर्खेतले साझा बिसौनी दैनिकसँगको सहकार्यमा सञ्चालन गरिरहेको ‘चुनावअघि, चुनावपछि’ श्रृंखला अन्तर्गत आजको अंकमा हामीले उनै थापाले चुनावभन्दा अगाडि गरेका प्रतिबद्धता र त्यसको कार्यान्वयनको अवस्थाको अध्ययनसहित यो सामग्री तयार पारेका छौंः

अमरबहादुर थापा (प्रदेशसभा सदस्य) दैलेख निर्वाचन क्षेत्र १ (ख)

प्रमुख प्रतिबद्धताहरूः

(१) जिल्लामा पेट्रोलियम पदार्थको खानी रहेको छ तर उत्खनन् भएको छैन । यसलाई सम्पन्न गर्ने र दैलेखबाट पेट्रोलियम पदार्थ सप्लाई गर्नका लागि पहल गर्नेछु ।

(२) सुर्खेत–दैलेख–महाबु–जुम्ला–नाग्चेनाग्ला–हिल्सा सडक निर्माण सम्पन्न गर्नेछु ।

(३) दैलेखलाई चीनको दोस्रो बजार बनाउनेछु ।

(४) प्रदेशबाट आफ्नो निर्वाचन क्षेत्र र त्यहाँका स्थानीय तहमा अधिकतम बजेट पार्नेछु ।

(५) दैलेखलाई हाइड्रोहबको रूपमा विकास गर्नेछु ।

(६) आधुनिक कृषिउन्मुख जिल्ला बनाउनेछु ।

(७) व्यावसायिक कृषि शिक्षाको विद्यालय र क्याम्पस स्थापना गर्नेछु ।

(८) मेरो निर्वाचन क्षेत्रमा पर्ने तीन वटै स्थानीय तहमा पाँच वर्षभित्र कम्तीमा १५–१५ शैयाको अस्पताल स्थापना गर्नेछु ।

(९) तीन वटा पालिकालाई नमुनायोग्य बनाउनेछु ।

(१०) दैलेखलाई भ्रष्टाचारमुक्त जिल्ला बनाउनेछु ।

(११) दैलेखलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउनेछु ।

(१२) नागरिकले महिनामा करिब ५० हजार कमाउने वातावरण सिर्जना गर्नेछु ।

कति कार्यान्वयन भए ?

हामीले सांसद थापालाई उनकै प्रतिबद्धता कार्यान्वयनका लागि उनले के गरिरहेका छन् भनेर सोध्दा उनले प्रतिबद्धता अनुसार केही काम भएको र केही हुन बाँकी रहेको बताए । उनको भनाइ जस्ताको त्यस्तैः

मैले जनताका चासोका विषयमा संसद् बैठकमा बोल्ने गर्छु । त्यसैलेले पनि कर्णाली प्रदेशसभाका चारवटा अधिवेशनमा सबैभन्दा बढी पटक संसद्मा मैले बोल्ने अवस्था आएको हो । संसद् बैठकमा म कोही बोल्ने नभए पनि बोल्नैपर्ने मध्यको सांसद हुँ । जनताको सरोकारका विषय बोल्नुपर्छ भनेर नै हामी निर्वाचित भएका हौं ।

तलब–भत्ता र सेवासुविधा लिउन भनेर मात्रै नागरिकले हामीलाई निर्वाचित गराएका हैनन् । नागरिकका आवाज प्रदेश सरकारमा पु¥याउने एउटा महत्वपूर्ण भूमिका हामी सांसदहरूको रहेको हुन्छ । म वितरणमुखी योजनाको विरोधी हुँ । ठोस परिणाममुखी योजनाको पक्ष लिन्छु ।

१. दैलेखबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्न पहल गर्ने प्रतिबद्धता गरेको थिएँ । म संविधानसभाकै सदस्य हुँदा नै पहिलो चरणमा नै मन्त्रीसहितलाई ल्याएर त्यहाँ अनुगमन गर्न लगाएँ । प्राविधिकहरूलाई ल्याएर हेर्न लगाएँ । पहिलो चरणमा सरकारले चाइनिज कम्पनीसँग सम्झौता ग¥यो । म संविधानसभाकै सदस्य भएकै समयमा चाइनिज कम्पनीबाट फिजिबिलिटी सर्भे सम्पन्न भयो । त्यसपछि अहिले डीपीआर सर्भे लगायतका काम भइसकेको छ । त्यसैले जादुको छडी हैन छिट्टै काम हुनलाई विस्तारै काम भइरहेको छ ।

२. सुर्खेत–दैलेख–महाबु–जुम्ला–नाग्चेलाग्ना–हिल्सा सडक निर्माण सम्पन्न गर्ने कुरा मैले चुनावमा बोलेको थिएँ । म पहिलोपटक संविधानसभा सदस्य भएकै बेला यो सडकको लागि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई ४५ जना सांसदको लिखित निवेदन हस्ताक्षर गर्न लगाएर दिएको पनि हुँ । हुँदा–हुँदा अहिले भर्खर डीपीआरको काम पनि सम्पन्न भएको छ । तर म प्रदेशमा आइसकेपछि यसमा मेरो धेरै यसमा भूमिका रहेन । तर पनि प्रदेशमा निर्णय गर्न लगाएर माथि पठाइएको छ । अहिले यो योजना राष्ट्रिय गौरवको आयोजना हो । प्रदेशसभाले गौरवका योजना गर्न नमिल्ने भएर थोरै बजेट प्रदेशबाट विनियोजन भएको छैन । धेरै मेहेनत गरेर यस योजनालाई राष्ट्रिय गौरवको योजनामा पार्न सफल भएका हौं । तर कति बजेट हाल्यो भन्ने कुरा संघीय सरकारको हो जसमार्फत नै काम अगाडि बढ्छ ।

३. दैलेखलाई चीनको दोस्रो बजार त होइन, उक्त नाग्चेलाग्ना सडक खुल्यो भने दैलेख चीनबाट नेपाल आउँदा पहिलो जुम्ला र दोस्रो दैलेख बजार हुनसक्छ भन्ने मेरो मान्यता हो, अहिले पनि त्यही धारणा हो । अब अहिले चिनियाँ सामग्री नआउँदै बजार त बन्दैन । जहिले नाग्चेनाग्ला सडक खुल्छ, त्यहीले चीनबाट नेपाल आउने सबैभन्दा छोटो रुट कर्णालीको यही रुट हुनेछ । किनभने जुम्लादेखि सुर्खेत आउँदा अहिले कर्णाली राजमार्ग र उक्त सडकको प्रयोग गर्दा ७९ किलोमिटर सडकको दूरी कम पर्छ । जसबाट उक्त सडकमा भाडा कम हुन्छ । पहिलो कुरा हाम्रो पहल उक्त सडक खुलाउने हो । म अस्तीमात्रै काठमाडौं गएकोबेला यो सडक छिटो अगाडि बढाउनुप¥यो भनेको छु । चीनबाट यो रुटमा सामान ल्याइयो भने सामानको मूल्य पनि कम पर्छ ।

४. प्रदेशबाट आफ्नो निर्वाचन क्षेत्र र त्यहाँका स्थानीय तहमा अधिकतम बजेट पार्ने भनेको थिएँ । मैले अधिकतम बजेट पारेको छु । मेरो निर्वाचन क्षेत्रमा प्रत्येक वर्ष प्रत्येक वडामा कम्तीमा एउटा योजना प्रदेशको बजेटबाट पारिरहेको छु । मेरो निर्वाचन क्षेत्रका २५ वटै वडाहरूमा जताततै सिँचाइ, सडक, खानेपानी, पूर्वाधार शिक्षा लगायतका विभिन्न योजना प्रदेशको बजेटबाट विकास भएको छ ।

५. दैलेखलाई हाइड्रोहबको रूपमा विकास गर्ने भनेको थिएँ । दैलेख कर्णाली प्रदेशको हाइड्रोहब नै हो । दैलेखमा तीन वटा हाइड्रोले विद्युत उत्पादन गरिहेका छन् । मेरै निर्वाचन क्षेत्रमा तीन वटा हाइड्रोपावर सञ्चालित छन् भने एउटा निर्माणाधीन छ । स्वाभाविक रूपले दैलेख हाइड्रोहब भएको छ ।

६. दैलेखलाई आधुनिक कृषिउन्मुख जिल्ला बनाउने कुरा मैले धेरै ठाउँमा धेरै पटक राख्दै आएको छु । परम्परागत कृषिले किसानहरूको जीवनस्तर माथि उठ्दैन । छिटोभन्दा छिटो नागरिकको जीवनस्तर माथि उठाउन के गर्नुपर्छ भन्ने कुरा मैले अनुसन्धान गरेँ । त्यो के रहेछ भने किबि, एभोगार्डाे लगायतका फल, ड्राइगन फूड आदि । यी विकसित देशलाई निर्यात गर्नुपर्ने चिज उत्पादन गर्ने । बजार उद्योग वाणिज्य संघ र सरकारले व्यवस्थापन गरिदिनुपर्छ । जसबाट नागरिकको जीवनस्तर सहजै माथि उठ्नसक्छ । जनताले यस्ता चिजमा लगानी गर्नुपर्छ । एउटा गरीब किसानसँग तीन रोपनी जग्गा त हुन्छ । त्यसमा लगाएको किबि लगायतका उत्पादनले पनि लाखौं आम्दानी हुन्छ । त्यसका लागि अहिले सरकारको तल्लो तहदेखि माथिसम्म यस्तोका लागि वातावरण छैन । अहिले त अनुदान बाँड्ने काम भइरहेको छ ।

७. व्यावसायिक कृषि शिक्षाको लागि विद्यालय र क्याम्पस स्थापना गर्ने कुरा सुरु भइरहेको छ । दुई तीनवटा कृषिका विद्यालय सञ्चालन भइरहेका छन् । कृषि प्राविधिक शिक्षालय सञ्चालनको लागि काम भइरहेको छ । किमुगाउँको बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि एक करोड रकम विनियोजन भइसकेको छ ।

८. मेरो निर्वाचन क्षेत्रमा पर्ने तीन वटै स्थानिय तहमा पाँच वर्षभित्र कम्तीमा १५–१५ शैयाको अस्पताल स्थापना गर्नेभनेको पूरा भइसकेको छ । नारायण नगरयालिकामा ५० शैयाको जिल्ला अस्पताल रहेको छ भने अन्य पालिकामा १५ शैयाका अस्पताल सञ्चालन भइसकेका छन्  ।

९. तीन वटा पालिकालाई नमुनायोग्य बनाउनका लागि त आमरूपले जाने कुरा हो । तर अहिले मेरा पालिकाहरू नमुना नै छन् । गएको बजेट नारायण नगरपालिकामा केही फ्रिज हुन्छ अन्यत्र सबै काम पूरा हुन्छ । विकास निर्माणका काम धमाधम सञ्चालन भइरहेका छन् । सुशासन कायम भइरहेको छ । मैले नमुनायोग्य बनाइसके भनेर भन्दिन, त्यो कुरा गलत हुन्छ ।

१०. दैलेखलाई भ्रष्टाचारमुक्त जिल्ला बनाउने कुरा त मैले गर्नसक्ने कुरा होइन । भ्रष्टाचारमुक्त जिल्ला माथि प्रधानमन्त्री केपी वलीले त बनाउन सक्दैनन् मैले कसरी बनाउने हो र ? तर भ्रष्टाचार गर्नुहुँदैन भन्नेतिर उन्मुख गराएको छु ।

११. दैलेखलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने काम पेट्रोलियम पदार्थ, तीर्थस्थल लगायतका पर्यटकिय कामबाट दैलेखलाई चिनाउने काम भइरहेको छ । कोरोना रोकथाम तथा व्यवस्थापनमा नमुना काम गरेरसमेत दैलेखलाई बाहिर चिनाएका छौं ।

२. नागरिकले महिनामा करिब ५० हजार कमाउने वातावरण सिर्जना गर्न कृषिका विभिन्न विकासका काम भइरहेका छन् । विभिन्न बजेट परिरहेका छन् । पाएको जिम्मेवारी राम्रोसँग कार्यसम्पादन गर्ने भनेको थिएँ । मैले राम्रैसँग कार्यसम्पादन गरिरहेको छु । उत्कृष्ट र सक्रिय तरिकाले काम गरिरहेको छु । लक्षित वर्गको लागि ४० लाख रकम बजेट थियो । नारायण नगरपालिकाका सार्कीहरू तीन महिना खान नपुग्ने थिए । ४० वटा घरलाई एकएक भैंसी दिएको छु । नारायण नगरपालिकामा एक सय २० वटा भैंसी वितरण भइसकेको छ । डेरी स्थापना भएको छ । नारायणबाट दुध निर्यात गर्ने काम गरिरहेका छौँ ।

विभिन्न सडकका आयोजनाहरूमा काम भइरहेको छ । सडकको निर्माण कार्य अगाडि पनि बढी रहेको छ । म खासमा ठोस परिवर्तनमुखी काम गरिहेको छु । त्यसैले मेरा मतदाता दाजुभाइ दिदी–बहिनीले मसँग असन्तुष्टी पोख्नुपर्ने अवस्था छैन । आजसम्म मैले केही नराम्रो गरे वा गलत गरेँ भनेर मतदाताले कमेन्ट पनि गरेका छैनन् ।