२२ मंसिर २०७८, बुधबार

कर्णाली सरकारले ३० अर्बको बजेट ल्याउने


वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ३० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । चालु आवमा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको कर्णाली सरकारले आगामी आवमा घटाएर बजेट ल्याउने तयारी गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव चक्रबहादुर बुढाका अनुसार ३० अर्बको बजेट ल्याउने तयारीका साथ विषयगत मन्त्रालयहरूलाई बजेट सिलिङ पठाइएको छ । बजेट कोरोना केन्द्रित हुने उनको भनाइ छ । ‘स्वास्थ्य सेवा प्रणालीको क्षमता विकास गर्ने कुरा प्राथमिकतामा हुनेछ,’ उनले भने, ‘अक्सिजन प्लान्टहरू निर्माण गर्नेसँगै अन्य स्वास्थ्य पूर्वाधारहरू पनि निर्माण हुनेछन् ।’

कोरोनासँगै पूर्वाधार, उत्पादन तथा रोजगारीलाई पनि प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको सचिव बूढाले जनाए । उनका अनुसार परियोजना बैंकले पनि आगामी वर्ष पूर्णता पाउनेछ । योजना आयोगले बनाउँदै गरेको परियोजना बैंक बनेपछि योजना कार्यान्वयनमा सहज हुने सचिव बुढाले बताए ।

बजेट ल्याउने समय नजिकिँदै गर्दा मन्त्रालयहरूले तयारीलाई तीव्र पारेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीका अनुसार बुधबार नीति तथा कार्यक्रमको तयारी सकिएको छ । मन्त्रालयले आर्थिक मन्त्रालयले पठाएको बजेट सिलिङअनुसारै बजेट ल्याउने तयारीका साथ नीति तथा कार्यक्रम तयार गरेको हो । शुक्रबारसम्म मध्यमकालीन खर्च संरचना बनाइसक्ने र १५ गतेसम्म सिस्टममा सबै कार्यक्रम इन्ट्री गरेर सक्ने उनले बताए ।