२२ मंसिर २०७८, बुधबार

मनले बाम गाउँभन्दा अगाडि पाइला चाल्नै मानेन


हुम्ला डायरी

पहिल्यै थाहा थियो– हिमाली जिल्लाको यात्रा कठिन हुन्छ। तर पनि यसपटक हुम्ला जान्छु नै भनेर अड्डी कसेँ।

हुन त आफूले चाहेर मात्रै पनि कतिपय यात्रा पूरा हुँदैनन्। जति जोडिन्छन्, सबैको स्वार्थ मिल्नुपर्छ यात्रामा। जीवन पनि त एक यात्रा हो।

हुम्ला–कर्णालीकै विकट भूगोल। सडक सञ्जाल नजोडिँदै यात्रा गर्ने रहर पूरा हुँदै थियो। सडक पुगेपछि गाडीमा सरर जान कुनै दिन अवसर जुरिहाल्ला नि जस्तो लाग्छ। हिँडेरै हुम्ला यात्रा गर्ने आँट पनि मनमा आइरहेको थियो। वाह यस्तो पो अनुभव!

हुम्लाको सदरमुकाम सिमकोटमा जहाज जान्छ। तर यतिसम्म जोश चल्यो कि जहाज जाने रुटमा त जहिल्यै जान मिल्छ। अलिक अप्ठ्यारोमा जाऊँ न भन्ने भयो। मुगुको गमगढीबाट पसेर हुम्लाको चंखेली, अदानचुली र ताँजाकोट हुँदै बाजुराको कोल्टीबाट निस्कने यात्रा तय गरियो।

यो अवसर लिजाले जुराएकी थिइन्। लिजासँगै यात्रामा म र मेरा एक मित्र थिए, टिकाराम ढकाल। फर्केपछि उनी परममित्र भए। लिजा अर्थात् स्थानीय तहको संस्थागत क्षमता स्वःमूल्यांकन। हो, हामी दुई जना कर्णालीका विकट वेदनाको मूल्यांकन गर्दै थियौं। र, पहाडले हाम्रो मूल्यांकन गर्नेवाला थियो।

वैशाख २ गते बिहानै सुर्खेतबाट नेपालगञ्ज लागियो। त्यहाँबाट मुगुको ताल्चासम्म जहाजको यात्रा थियो।

‘१० बजे नै जहाज उड्छ समयमै आइपुग्नू,’ टिकटवालीले तारान्तार फोनमा भनेकी थिइन्। हुन त हिमाली जिल्लामा पहिल्यै टिकट काटेर उड्ने चलन हुँदैन। मौसम र यात्रु हेरेर जहाज जहिले, जता पनि उड्न सक्छ।

तै पनि हामीले टिकट चाहिन्छ भनेपछि उनले टिकट दिएकी थिइन्। र, टिकटको पैसा टिकाराम सरले इसेवाबाट ट्रान्सफर गरिसकेका थिए। बिहान ९ बजे विमानस्थल पुगियो। जहाज उड्ने समय सोध्न पनि समय लाग्यो। एयरलाइन्सको काउण्टर खुलेकै छैन। सुरक्षाका मान्छेले उता कार्गो अफिसमा सोध्नू भनेपछि त्यतै गइयो। उता पनि मान्छे छैनन्।

सोध्दै जाँदा कसैले एउटा मान्छे देखाएर भने, ‘उसलाई सोध्नू’।

टिकाराम सरले अघि उनैलाई सोध्दा उनी केही बोलेका थिएनन्।

अब भने अलि झोंक्किएर भने– कम्तीमा समय त भनिदिनू। भोक पनि लाग्यो। समय पुग्छ भने खाना खाएर आउँछौं।

उनले हुन्छ मात्रै भने। उनी अर्थात् सीता एयरका एजेन्ट। नेपालगञ्जदेखि ताल्चासम्म जाने यात्रु खोजेर जहाज उडाउने जिम्मा उनैको थियो। त्यसबापत् उनले कमिसन पाउँथे।

हामी हतार हतार दस बजेभित्रै खाना खाएर विमानस्थल पुग्यौं। तर त्यहाँ कुनै सुरसार छैन। एजेन्ट पैसा गन्नमै व्यस्त थिए। हामीले सीता एयर अंकित ज्याकेट लगाएका मान्छेलाई फ्लाइटबारे सोध्यौं। उनीहरू पनि चुप थिए। केहीबेर कुरेपछि काउण्टर खुल्यो।

सुरूमै गएर चेक इन गर्‍यौं। १ र २ नम्बरमा हामी दुईको नाम लेखियो। झोला तौल गरेर ठेलामा हाल्यौं। त्यसपछि ढुक्कले बस्यौं। अबको केही बेरमा रारा तालको माथिबाट उडेर छेवैमा रहेको ताल्चा विमानस्थलमा अवतरण हुने कुरा पक्का भएको थियो।

केहीबेरमा तिनै एजेन्ट आए। भर्खरै जारी गरेको बोर्डिङ पास मागे। हामीले केही नसोधी दियौं। लाग्यो केही नमिलेर होला। हामी कुरिरह्यौं। धेरैबेर कुर्दा पनि हामीलाई कसैले केही भनेन। न त अघि फिर्ता मागेको बोर्डिङ पास नै फिर्ता आयो। गतिविधि त्यति गतिलो नलागेपछि सोध्न गयौं।

एजेन्टले हाम्रो नाम काटेर अरु कसैलाई उडाउन चाहेछन्। काउण्टरमा बस्नेले भने, ‘हजुरहरूलाई दोस्रो फ्लाइटमा हाल्दिन्छौं।’

त्यसपछि तात्न करै लाग्यो।

एकातिर गमगढीमा कार्यक्रम तय गरिसकिएको छ। सहभागी हाम्रै प्रतिक्षामा छन्। कतिबेला पुगिएला भन्ने रन्को थियो। अर्कोतिर एजेन्टको लीलाले अचम्म बनायो। कम्तीमा बोर्डिङ पास फिर्ता मागेर त्यसलाई रद्द गर्दासमेत सम्बन्धित हामीलाई कुनै सूचना दिन आवश्यक ठानेनन् उनले। लिजामा नागरिकलाई सूचना सम्प्रेषणको अवस्था पनि मूल्यांकनको एउटा सूचक थियो। हामी सरासर ठगिएका थियौं। यो त अति नै भयो।

बुद्ध एयर र तारा एयरका अरू साथीसँग पुरानै चिनजान थियो। उनीहरू हामी नजिक आए। मैले सबै कुरा सुनाएँ। ताराका सरले उसो भए ‘तारामा जानु, २ सिट खाली छ’ भने।

मलाई प्रस्ताव ठीक लाग्यो। यत्तिकैमा सीता एयरले दोस्रो फ्लाइट पनि सँगसँगै गर्ने हो, केही फरक पर्दैन, सँगै पुगिन्छ भन्ने जानकारी दियो। मुगुबाट साथीहरूले ‘दोस्रो फ्लाइटको त्यति भर हुन्न है’ भनेर तर्साइदिए। हुन पनि सधैंभरी यसैगरी आजित भएका होलान् उनीहरू।

हामी भने विकल्परहित थिएनौं। तारा र सीता दुवैले हामीलाई लैजान तयार थिए। अलि ढुक्क भयौं। यत्तिकैमा मैले नेपाल प्रहरीका एसपी साथीलाई फोन लगाएँ। उनले एयरपोर्ट सुरक्षामा फोन गरेर जानकारी दिएछन्। असई साहेबको फोन आयो। मैले सबै कुरा भनेँ। केहीबेरमा उनी पनि आए।

‘एसपी साहेबको मान्छेलाई के गरेको?,’ असईले एजेन्टलाई झपारे। उनले हामी ‘ठूलो’ मान्छे भएको कुरा थाहा नपाएको बताए। यत्तिकैमा असई साहेबले कसैलाई फोन गरेर हतकडी ल्याउन भने। एजेन्टले जहाजमा चढेका दुई जना उतारेर हामीलाई चढाउने कुरा गरे। हाम्रो उद्देश्य न उनीहरूलाई झार्ने थियो, न एयरलायन्सका एजेन्टलाई हतकडी लगाउने। हामीलाई त समयमै ताल्चा पुग्नु मात्र थियो।

चित्त नबुझेको कुरा के भने हामीलाई जारी गरिएको बोर्डिङ पास फिर्ता मागेर जानकारीबिनै अरुलाई उडाउनु सरासर एजेन्टको गल्ती हो। हामी ‘ठूलो’ वा ‘सानो’ थिएनौं। बस् यात्रु थियौं।

मुगु पुगेको भोलिपल्टैदेखि पानी पर्‍यो। अग्ला पहाडमा हिउँ पर्‍यो। हिउँ आएपछि टेलिफोनको टावर गयो। सञ्चार सम्बन्ध–विच्छेद भयो। छायानाथ राराको कार्यक्रम सकिएपछि हामीलाई त्यहाँ बसिरहन छुट थिएन। चंखेली जानु थियो। चंखेली जान त्यति सहज थिएन। किनभने फोन थिएन। गाडी थिएन। समय थिएन। हतारमा यात्रा गर्नुको मर्म थियो।

गमगढीको पुछारमा मुगु कर्णाली छ। कर्णालीपारि र्‍याप-थ्रीले खनेको सफा बाटो छ। तर, पुल नहुँदा जीपहरू नदी तर्न सक्दैनन्। पारितिर चल्ने दुइटा जीप बिग्रेका छन्। एउटा चंखेलीपट्टी छ रे। हामीलाई भने छट्पटी छ।

गाडीको व्यवस्था हुन्छ कि भनेर कम्ती कोशिस गरिएन। दुई दिनसम्म प्रयास गर्दा पनि यातायातको साधन फेला परेन। चंखेलीतिरको जीपवालासँग बल्लबल्ल सम्पर्क हुँदा ६० हजार भाडा भने। त्यति रकम त हाम्रो यातायाततर्फको बजेट सिलिङ थियो।

हामी हिँडेरै जाने भयौं। दुई दिनअघि पनि हामी रारा किनारबाट हिँडेरै गमगढी झरेका थियौं। त्यसले पनि हिँड्ने हौसला दियो। ५ गते बिहानै गाडीमा कर्णाली किनारसम्म गयौं। हिँड्न हौसिए पनि पारिपट्टी केही न केही साधन त भेटिएला भन्ने मनमा थियो।ा

स्थानीय जोखबहादुरले हामीलाई बाटो देखाए। विमानस्थलमा जोखेको १५ किलोका दुइटा झोला पनि बोके। पुल तरेर अलिकति ठाडो लाग्नेबित्तिकै हाम्रो सातो उड्यो। यसो हेरेको त अघि देखिएको चंखेली लेक पनि लुक्यो। सामुन्ने अर्कै पहाड ठडियो।

बानी यतिसम्म बिग्रेछ, मानौं तिघ्रा हेर्न मात्रै हुन्, फोक्सो आराम गर्नका लागि हुन्।

तै पनि जानु त छँदैछ। ठाडो बाटो उक्लिँदा उताबाट घुमेर मोटर बाटो आउँछ तर मोटर आउँदैन। मोटर बाटोबाटै हिडौं न भन्दा जोखबहादुर मान्दैनन्। धेरै घुमाउरो पर्छ रे। उनलाई त उकालोमै पनि पाइला पुगेको छैन।

‘आहा कति राम्रो बाटो,’ टिकाराम सर र म सर्लक्क परेको सडक हेर्दै उस्स गर्छौं।

‘बाटो त कति राम्रो। कार पनि आउने जस्तो छ। मोटरसाइकलमै आएको भए हुने। उतैबाट जीप रिजर्भ गरेको भए पनि हुने…’ बाटो काट्ने बाटो।

न पानी बोकिएको छ न बीचमा कतै खाने ठाउँ छ। बल्लबल्ल नेटा पुगेर मज्जाले पानी र बिस्कुट खायौं। अलिकति तागत आएजस्तो भयो। यसो टाउको उठाएर हेर्दा चंखेली लेक अझै पर सरेजस्तो लाग्यो। नेटाको पारि लुम गाउँ थियो। सिधा बाटो। सजिलै पुगिएला जस्तो। गाउँको माथिमाथि तोरण तानेजस्तो यताउता गरेको घुमाउरो बाटो। हेर्दा त्यति अप्ठ्यारो होइन। सजिलै चंखेली लेक पुगिएला जस्तो। फेरि हिँड्न साहस जुट्यो।

अलिकति सिधा हिँडेपछि सुन्दर खोला आयो। उत्तर फर्केर माथितिर हेर्दा पहाडको टुप्पामा हिउँ परेको मनमोहक दृश्य देखियो। खोला तरेर केहीबेर हिँडेपछि पछाडिबाट गाडीको आवाज आयो। फर्केर हेर्दा ट्रयाक्टर। देख्दा मात्रै पनि खुसी लाग्यो।

त्यसले लैजाने हो होइन? ठाउँ छ छैन? कहाँसम्म जान्छ? हाम्रो गन्तव्यमा पुग्न हामीलाई कति लाग्ला?

यी कुराको विश्लेषण न मैले गरेँ न टिकाराम सरले।

ट्रयाक्टर नजिक आउन खोज्दाखोज्दै रोक्यौं। सामानले भरिएको। सात थाप्लेसम्म पुग्ने रे। जहाँ पुगे पनि हामीलाई बाटै छोटिने न हो। जाने निधो भयो। चालकले पनि नाइँनास्ती गरेनन्। जोखबहादुरले ट्रलीमा भरिएको सामानमाथि हाम्रा झोला बाँधिदिए। ड्राइभरको पछाडि राखिएको सानो पट्टीमा हामी अप्ठ्यारो गरी बस्यौं। अनि चालक बसे। उनको छेउमा एकजना युवक बसे। उनी बामसम्म पुग्ने रहेछन्। जब चालकले स्टार्ट गरेर गुडाउन खोजे, चक्का चलेन। झरेर हेर्दा देब्रेतिरको ठूलो टायर त पन्चर भएछ। हामीलाई खल्लो भयो। अर्कै नमज्जा।

पैसा पाएर बिदावारी भइसकेका जोखबहादुर धेरै पर पुगेका थिएनन्। फर्केर आए। हाम्रा झोला झिकेर बोके। अनि ठाडो उकालो लागे। हामी उनको पछिपछि लाग्यौं। लुम गाउँ कटेपछि मैले मोटर बाटोबाट हिँड्ने प्रस्ताव राखेँ।

‘त्यसरी त दिनभरीमा बाम गाउँ पनि पुगिँदैन,’ जोखबहादुरले घुमाउरो पारामा अस्वीकार गरे। टिकाराम सर पनि उतै लागे। मेरो प्रस्ताव फेल भयो। त्यसपछि लौरोको सहारामा छोटै बाटो लागियो।

पर्सिपल्ट चैते दसैं थियो। बाटो खन्न गएकाहरू घर फर्किँदै गर्दा बाटोमै भेटिन्थे। सबैले केही न केही बोकेका। हलो बनाउने काठ। लठ्ठी। झोला।

उनीहरू ओरालोमा गुडुडु दगुर्थे। आफूलाई भने उकालोमा त्यसैत्यसै तिर्खा लागेजस्तो, पिसाब लागेजस्तो, कस्तो कस्तो हुने।

उकालो सकिएपछि बाम गाउँ देखियो। अब भने मोटरबाटो छल्ने बाटो थिएन। तरपाएँ उकालो।

जोखबहादुरलाई नास्ता व्यवस्था गर्न अगाडि पठायौं। हामी दुई भाइ विस्तारै हिँड्यौं। गाउँ देखेपछि आनन्द आयो। गन्तव्य बिर्सिएर अन्तै हराउनुको पनि बेग्लै मजा। पुग्नुपर्ने त कहाँ हो कहाँ? तर मनले बामभन्दा अगाडि पाइला चाल्नै मानेन।

बाम गाउँको तलतिर सुन्दर फाँटमा गहुँ हरियो थियो। मास्तिर चंखेली लेक अझै अग्लियो।

याे डायरी सेतोपाटीबाट साभार गरिएको हाे ।