२२ मंसिर २०७८, बुधबार

ट्रयाक्टरको छतमा बसेर हुम्लाको बाटो


हुम्ला डायरी-२

पढ्नुस्ः भाग १- मनले बाम गाउँभन्दा अगाडि पाइला चाल्नै मानेन

एक रूपैयाँको नोट अचेल त्यति देखिँदैन। त्यसमा राखिएको चित्र चंखेली लेकको हो। त्यो तस्बिर सायद बाम आसपासबाट खिचिएको हुँदो हो। तत्कालीन राजा वीरेन्द्र शाह शिकार खेल्न चंखेली पुगेका थिए रे। त्यसै समय घनघोर हिउँ परेछ। उनले कठिनाइ भोग्नुपरेछ। स्मरण रहोस् भनेर नोटमा तस्बिर राख्न लगाए रे।

हामी बामको शिरानमा रहेको नाफा बजारमा बास बस्यौं। यहाँबाट चंखेली लेक नै कति माथि थियो। हामी त्यही लेक काटेर कता हो कता जानुपर्ने थियो। चंखेली लेक नै मुगु र हुम्लाको सीमाना हो। हामीलाई हुम्लाको चंखेली गाउँपालिकाको कार्यालय रहेको पिप्लाङ पुग्नु थियो।

यतिपछि पिप्लाङ आउँछ भन्ने हामीलाई अन्दाज पनि थिएन। स्थानीयको भनाइका आधारमा समय पहिल्याउन सकिँदैन। किनभने यस्तो समय सापेक्ष हुन्छ। को कति छिटो हिँड्न सक्छ त्यसमा भर पर्छ। मोटर भर्खर चल्न थालेकाले मोटरलाई लाग्ने समयको हिसाब गरिएको छैन। त्यो पनि सधैं एकैनास हुँदैन। काम हुँदै भएकाले कहिले र्‍यापले रोक्छ, कहिले पहिरो खसेर बाटो थुनिएको हुन्छ। हिजोआज हिउँ आएर बाटो हिलो भएको छ।

पिप्लाङमा मान्छे जम्मा भइसकेका होलान्। हामी पुगेपछि मात्रै कार्यक्रम हुनेवाला थियो। हामी भने ‘छिट्टै पुगिएला नि’ भन्नेमा थियौं। तर कसरी? न हिँड्ने हेउ थियो न कुनै साधन। रातभर ट्रयाक्टर हिँड्छन्। तर हामीलाई लैजान कोही तयार छैनन्। हामी बसेको होटलकी साहुनीलाई कुनै उपाय लगाउन भन्यौं। जति प्रयास गरे पनि उनी विकल्पविहीन बनिन्।

बिहान सबेरै उठेर हेर्दा पनि चंखेली उस्तै ठिंग उभिएको छ। रिस उठ्दो। चिया खाँदै गर्दा हामी सुतेको घर मास्तिर एउटा ट्रयाक्टर देखियो। मैले त्यही ट्रयाक्टर रिजर्भ गरेर भए पनि जान प्रस्ताव गरेँ। टिकाराम सरले हुन्छ भने। तर कुरा गर्न खोज्दा साहुजीले आनाकानी गरे।

‘रिजर्भ गर्ने हो, तपाईंले भनेको पैसा दिन्छौं, कृपया हामीलाई पिप्लाङ पुर्‍याइदिनुस्’ भन्यौं।

साहुजीले भने, ‘हुन्छ १० हजार दिनुस्।’

केही बेरमै साहुनीले भनिन्– हुँदैन तेलको पैसा पनि उठ्दैन। नजाने।

हुन पनि उनीहरूलाई के कर थियो र? जसरी नि जानुपर्ने त हामीलाई थियो। पैसा थपिदिन्छौं भनेपछि बल्लबल्ल राजी भए। ट्रयाक्टर त भयो तर र्‍यापले दिनभरी बाटो बन्द गर्छ। दिउँसो निर्माणको काम हुन्छ। राति मात्रै खुल्छ।

नाफामा र्‍यापको अफिस छ। हामीले त्यहीँ गएर अनुरोध गर्ने भयौं। सबै कुरा भनेपछि कसो नमान्लान् र। चारैतिर जालीले घेरेको घरमा जाली बाहिरबाटै करायौं।

‘सर, सर, र्‍याप सर।’

केही बेरमा भित्रबाट एकजना आए। हामीले पासका लागि भन्यौं। उनले हामीलाई गमगढी हुँदा नै देखेका रहेछन्। भने, ‘गाडी त जति पनि पाइन्थ्यो नि। दुःख पाउनुभएछ।’

उनीहरूलाई पो जता जाँदा पनि गाडी हुन्थ्यो। हामी यतिबिघ्न अप्ठ्यारोमा छौं भन्ने अरूलाई के थाहा?

तै पनि र्‍याप सरले हाम्रो बेदना बुझे। कागजको टुक्रोमा लेखेर दिए- १९ अप्रिल २०२१। हस्त जी। टिकाराम ढकाल र कमल लम्साल। लु ४ त ७३६८ ट्रयाक्टर छोड्नु। महेश।’

जाबो कागजको चिर्कटोले पनि औधि खुसी दियो। किनभने त्यो पास थियो। फेल थिएन।

पास त भयो तर जसै ट्रयाक्टर भएको ठाउँमा पुगियो त्यहाँ त उधूम मच्चिएको छ। ट्रयाक्टर साहुको घरमा धुन्धान झगडा। जानुपर्ने ठाउँ टाढा छ, पैसा थोरै भयो रे। हामीले फेरि पैसा थप्ने भयौं। किनकि हिँड्ने हेउ थिएन। हिँडेर कार्यक्रम पनि भेटिन्नथ्यो। तै ट्रयाक्टरले समयमै पुर्‍याउला कि भन्ने भयो। बल्ल बल्ल ७ बजे नाफाबाट ट्रयाक्टर छुट्यो।

ट्रयाक्टरको अघिल्लो सिटमा चालक बसे। उनो पछाडि राखेको सानो फलामको पट्टीमा हामी दुई जना बस्यौं। ट्रयाक्टरको टाउकोलाई वरीपरि फलामको पाताले बारेको थियो। जसै ट्रयाक्टर गुड्न थाल्यो हामीलाई हल्लाउन थाल्यो। न कतै समाउने ठाउँ छ न राम्ररी अडिने गरी बस्न पाइएको छ। तै पनि मनमा खुसी छ कि अब समयमै पुगिन्छ।

ट्रयाक्टरको बन्द टाउकोभित्र टाउको ठोक्दै ठोक्दै केही घन्टामा चंखेली लेक पुगियो। यतिबेलासम्म आफ्नै टाउकोमा ससाना चंखेली उठिसकेका थिए। चंखेली लेकको सुन्दरतालाई आफ्नै कुरुपताले जित्यो।

लेक काटेपछि ट्रयाक्टर ओरालो लाग्यो। ओरालोमा आफू बसेको सिटमा अडिनै सकिएन। टिकाराम सर केहीबेर अघि नै चालकको छेउमा बसाइ सरेका थिए। मलाई भने असाध्यै अप्ठ्यारो भयो। चालकलाई हामी पुग्ने ठाउँबारे सोधेँ। पर पहाडमा सातथाप्ले देखिएको थियो। ‘त्यहाँसम्म एक खण्ड होला, त्यसपछि दुई खण्ड’ चालकको कुराले अत्यायो। सानो छँदा कहिलेकाहीँ ट्रयाक्टर चढिन्थ्यो। रमाइलो लाग्थ्यो। अब कहिल्यै चढ्दिनँ जस्तो भयो।

अति भएपछि सल्लाह गरेरै म ट्रयाक्टरको छतमा चढेँ। फलामले बारेको सानो कोठाजस्तो थियो हुड। यसै त ओरोलो त्यसैमा खन्दै गरेको बाटो। ट्रयाक्टरको धर्म उफार्नु हो, उफारेकै थियो। समात्ने फलाम पनि डोला थिएनन्। हातै खाने एंगल। हुन त कहिल्यै त्यहाँ मान्छे बस्ने परिकल्पना गरिएको थिएन होला। छतमा पनि मलाई सजिलो थिएन। कम्तीमा तलजस्तो थिएन। सास्तीसँग समात्न परे पनि म स्वतन्त्र थिएँ। स्वतन्त्र हुनुको मज्जै बेग्लै।

पानी परेर आकाश खुलेको थियो। उत्तरमा हिमाल हाँसेका थिए। कोणधारी रूखको बीचबाट निलो आकाश चियाउँदा मनै भरङ्ग हुन्थ्यो। ट्रयाक्टरले बुरुकबुरुक उफारेर फलामे पातामा थेचार्दा भने झसंग हुन्थ्यो। ‘सग्लै शरीर घर पुगिन्न कि’ जस्तो हुन्थ्यो। सातथाप्ले, थाडी, बोहोरावाडा लगायतका बेरियरमा र्‍यापको पास देखाउँदै अघि बढ्यौं। दार्माबाट तल लोती किनारमा पिप्लाङ देखियो। अनि मन शान्त भयो। शरीर अशान्त।

हामी सुर्खेतबाट हिँड्नुअघि नै ‘आउँदैछौं’ भनेर सबैलाई इमेल लेखेका थियौं। चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सूचना प्रविधि अधिकृतसँग पटक पटक फोनमा कुरा भइरहेकै थियो। अभिमूखीकरण कार्यक्रमको तयारी र स्वःमूल्यांकनका सूचकबारे जानकारी गराइएको थियो। हाम्रो यात्राबारे पनि उनीहरू अपडेट थिए।

ट्रयाक्टरमा अति सकस भएपछि दार्माबाट म पैदलै ओरालो झरेको थिएँ। शरीर कमजोर भएको थियो। तै पनि हिँड्न धेरै आराम। स्थानीय दत्त शाही पनि उतै जाँदै थिए। गफ गर्दै बाटो काटेँ। टिकाराम सर चढेको ट्रयाक्टरभन्दा अघिनै म लोती खोला पुगिसकेको थिएँ। खोलामा मोटर चल्ने पुल नभएकाले ट्रयाक्टर अलि वरै रोक्यो। त्यहाँबाट खोलासम्म अलिकति ओरालो, झोलुङ्गे पुल तरेर फेरि उकालो अनि केहीबेर सिधा हिँड्नुपर्थ्यो। स्थानीयलाई २० मिनेटको बाटो हुँदो हो हामीलाई एक घन्टा लाग्यो। यसरी पिप्लाङ पुग्दा दिउँसोको २ बजेको थियो।

हिमाली जिल्ला भए पनि हुम्लाको पिप्लाङमा गर्मी थियो। हामी यात्राले लत्रेका थियौं। म अलि बढी नै गलेको थिएँ। खुल्दै गरेको ट्रयाकमा ट्रयाक्टर कहिलेकसो पल्टेला जस्तो हुन्थ्यो। छतबाट भीरको तलतिर हेर्दा आङ सिरिंग हुन्थ्यो। यसले मानसिक रूपमा मलाई मारेको थियो।

गाउँपालिकाको कार्यालय नजिकैको ‘राधिका होटल’मा झोला राखेर कार्यक्रममा सहभागी भइहाल्ने योजना थियो। होटलको कोठामा झोला र म सँगै पल्टियौं। टिकाराम सरलाई ‘कार्यक्रम सुरू गर्दै गर्नु, म एकैछिनमा आउँछु’ भनेँ। केहीबेर खाट पनि ट्रयाक्टर जस्तै लाग्यो।

आराम गरेर म निस्किएँ। गाउँपालिका कार्यालय बाहिर कुर्चीमा मानिसहरू बसिरहेका थिए। कार्यक्रम त सुरू नै भएको रहेनछ।

किन यति ढिला? भनेर जिज्ञाशा राख्दा कसैले भन्यो– अध्यक्षज्यू निस्किए।

लाग्यो कुनै कामले होला। उसो भए उपाध्यक्ष हुँदा पनि भइहाल्छ। वडा अध्यक्ष र कार्यपालिका सदस्यहरू पनि छन्।

‘अब सुरू गरौं। सकिन्छ भने अध्यक्षज्यूलाई पनि बोलाऊँ,’ यति भनेर म बैठक कक्षभित्र छिरेँ।

भित्र तोकिएका मान्छे उपस्थित थिए। उपाध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र विभिन्न शाखा प्रमुखहरू। अभिमुखीकरण कार्यक्रमका सहभागी यिनीहरू नै हुन्। उसो त मुगुको छायाँनाथ राराका प्रमुख पनि उपचारको लागि काठमाडौं गएको बेला परेको थियो। उपाध्यक्षकै अगुवाइमा कार्यक्रम आयोजना गरिएको थियो। आखिर यो स्थानीय तहकै कार्यक्रम हो। हामी त सहजीकरणका लागि गएका थियौं। हामीलाई प्रदेश सुशासन केन्द्रले खटाएको थियो। दुवै जनाले आ–आफ्नो कार्यालयमा बिदा मिलाएर खटिएका थियौं। फागुन १०–१२ मा भएको लिजाको प्रशिक्षक प्रशिक्षणमै हामीले हुम्ला जान्छौं भनेका थियौं। हामी आफ्नो प्रतिबद्धता पूरा गर्दै थियौं।

उपस्थित भएकाहरूसँग अनौपचारिक कुराकानी हुँदै थियो। यसैबीच अध्यक्ष आइपुगे। आफ्नो कुर्चीमा बसे। अनि भने– आज कार्यक्रम हुँदैन।

हामी दंग पर्‍यौं। कार्यक्रम अचानक आयोजना गरिएको थिएन। धेरै अघिदेखि तयारी थालिएको थियो। यो कुनै राजनीतिक दलको कार्यक्रम पनि होइन। गाउँपालिकाको स्वःमूल्यांकन थियो।

हामीले त्यही भन्यौं। अध्यक्ष आफ्नै अडानमा रहे। अध्यक्ष हुनु त यस्तो पो !

अध्यक्षमा अध्यक्ष हुनुको दम्भ प्रष्टै देखिन्थ्यो। नत्र कार्यक्रम रोक्न जरुरी थिएन। हो, हामीलाई पुग्न केही घन्टा  ढिला भयो। तर हामी ढिला हुनुमा हाम्रो दोष थिएन। हरसम्भव प्रयास गरेरै हामी त्यहाँ पुगेका थियौं। न अध्यक्षले हाम्रो यात्राबारे सोधे। न खाना। पीडाको त कुरै भएन।

उपस्थित भएकालाई त्यसै किन फर्काउनु भनेर लखतरान भए पनि हामी त्यही दिन कार्यक्रम गर्न खोज्दै थियौं। भोलिपल्ट गर्न पाए हामीलाई पनि हाइसञ्चो हुन्थ्यो। तर, पहिलोपटक पिप्लाङ पुगेका पाहुनाजस्ता हामीलाई हालखबर समेत नसोधी यस्तो व्यवहार हुँदा नमजा लाग्यो।

भोलिपल्ट चैते दसैं थियो। हामीले अध्यक्षलाई चिन्न सकेनौं वा अध्यक्षले हामीलाई बुझेनन्। थाहा भएन। जीउ थाकेर कुर्चीमा बस्दा पनि थरथर भएको थियो। उनले भोलि पनि कार्यक्रम हुँदैन भने। हामीले उसोभए ठिकै छ अब हामी अदानचुली जान्छौं भन्यौं।

अध्यक्षले ‘त्यता सकेर यता आउनु अनि कार्यक्रम गरौंला’ भने।

हामीले फर्केर आउँदैनौं भन्यौं। त्यसरी आउँदा न रुट मिल्थ्यो न सेड्युल। भोलिपल्ट दिनभरी हामी कर्मचारीहरूसँगै बसेर काम गर्नेवाला थियौं।

‘उसो भए कार्यपालिकासँग पनि भोलि नै बसौं,’ मैले भनें।

धेरैबेरको गलफतीपछि टिकाराम सरले भने, ‘यतिबेलासम्म त अभिमूखीकरण नै झण्डै सकिन्थ्यो।’

कुरो अझै मिलिसकेको थिएन।

चंखेली गाउँपालिकाका अध्यक्ष प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम कर्णाली प्रदेश समन्वय समितिका बोर्ड सदस्य समेत हुन्। त्यस हिसाबले पनि उनी लिजाबारे जानकार थिए। उनलाई लागेको होला, ‘यो मेरो इलाका हो। मैले भनेको हुनुपर्छ।’

हो, चंखेली गाउँपालिकामा गाउँपालिका अध्यक्षभन्दा ‘ठूलो’ अर्को थिएन।

यस्तो अवस्थामा हामीलाई त्यहाँ कार्यक्रम गर्नैपर्ने बाध्यता पनि केही थिएन। हामीले हाम्रो प्रशिक्षक भत्तामात्रै माया मार्दा हुन्थ्यो। हामीलाई त्यसको लोभ पनि थिएन। लालसा त्यागेपछि हामी बलियो भयौं।

भन्यौं, ‘अब कुनै हालतमा कार्यक्रम हुँदैन।’

अन्तिममा यसले काम गर्‍यो।

अध्यक्षले ‘ठीकै छ कार्यक्रम गरौं’ भने।

थाकेको ज्यानलाई थप आराम मिल्यो। त्यसपछि अध्यक्षलाई के भयो थाहा भएन। हामीलाई भने ‘स्थानीय सरकार प्रमुख’ देखेर लज्जाबोध भयो।

छोटो बसाइमा पनि पिप्लाङमा गाउँपालिकाका केही अलपत्र योजना देखिए। गाउँपालिकाको कार्यालय छेवैमा रहेको स्कुलमा छानो थिएन। पानी पर्दा केटाकेटी कसरी पढ्दा हुन्?

नजिकै १४ लाखको सार्वजनिक शौचालयको ‘स्वरुप’ मात्रै थियो। प्रहरी चौकीको भवन हस्तान्तरण नहुँदै भत्केको थियो। चौकीस्थित धारामा नुहाउन जाँदा यो सबै हामीले देखेका थियौं।

पिप्लाङमा खानेपानीको अभाव थियो। माटाकै छानो भएका घरहरूको बाटो हुँदै हिँड्दा हामीले तुरतुरे धारामा जर्किनको लाइन देखेका थियौं। विकट गाउँको ‘विकास’ देखेर हामीलाई टिठ लाग्यो।

क्रमशः

भाग १- मनले बाम गाउँभन्दा अगाडि पाइला चाल्नै मानेन

 

याे डायरी सेतोपाटीबाट साभार गरिएको हाे ।