२२ मंसिर २०७८, बुधबार

रक्सी खानेलाई मात्र मासु!


हुम्ला डायरी-३

पिप्लाङमा मन यसै स्थिर थिएन। शरीर थिलोथिलो भएको थियो। मौसम सुख्खा। उराठलाग्दो।

हामी बस्ने होटल गाउँपालिकाको कार्यालयको आडैमा थियो। गाउँपालिकाको पशु सेवा शाखा पनि त्यही घरमा थियो।

पिप्लाङको पारिपट्टी खार खोलाबाट बिजुली निकालिएको थियो। बिजुली भएकाले धेरै कुराको सुविस्ता थियो। बेलुका खाना खानुअघि साहुजीले पशु शाखाको फ्रिजमा राखेको चिसो बियरको बोतल देखाउँदै सोधे–सरहरूलाई चल्छ?

हामीलाई खाना खाएर बिस्तरामा ढल्किन मन थियो। जिउ पूरै दुखेकाले धेरै भुल्न सकिने अवस्था थिएन। नखाने भन्यौं।

साहुजीले सेतो चामलको भात र सिमीको दाल दिए। अनि आलुको तरकारी। टिकाराम सरले ‘मासु पनि दिनुस् न’ भने। हिजो नाफामा सिंगै भाले खाएकाले मलाई मासु खाने मन थिएन। तै पनि हरियोपरियो नहुँदा खाना अलि खल्लो लागेको थियो, प्याज मागेर खायौं। बेलुकाको ‘खानाअघिको सेसन’मा त्यहाँ अरूले थपीथपी मासु खाएका थिए। आजै लोती खोलामा मारेका माछा ल्याएर पकाएको पनि देखिएको थियो। तर साहुजीले माछा-मासु केही दिएनन्। जिउ बेस्सरी दुखेकाले खानापछि सिटामोल खाएर सुतेँ।

भोलिपल्ट चैते दसैं थियो। होटलवालाले बिहानै खसी काटेका थिए।

‘आज त मज्जाले मासु भात खाइने भयो,’ टिकाराम सरले सुनाए। मलाई भुटन मनपर्ने भएकाले बनाउन भनेँ। केहीबेरमै साहुजीले हामीलाई खाना खान बोलाए।

‘भुटन पाक्यो नि’ भन्दा त्यो त दिउँसोलाई हो भने। बिदाको दिन भएकाले दिउँसो होटलमा रक्सी खाने मान्छे आए। उनीहरूले भुटन पनि खाएछन्। त्यहाँ ‘चाइनिज’ रक्सी चर्चित रैछ। रक्सी नखाँदा हामीले मासु नपाएको भान भयो।

हामी बसेको होटल छेउमा ग्लोबल आइएमई बैंक थियो। शाखा प्रबन्धक बुटवलका गोविन्द ज्ञवाली रहेछन्। दुई वर्षअघि शाखा खुलेसँगै हेलिकप्टर चार्टर गरेर पैसा पुर्‍याइएको थियो रे। पैसा तिरेर ल्याएको पैसा परिचालनको कथा भने। त्यही पैसा कमाउने नाममा त्यहाँ पुगेका उनले आफ्ना अनुभव सुनाए। घर छाडेर टाढा बस्दाको दुःख बिसाए।

इन्टरनेट अवरूद्ध भएकाले हाम्रा कतिपय काम रोकिए। काम नभएपछि बेलुकीपख हामी गाउँमा ‘क्यारम’ खेल्न निस्कियौं। खेलेर सक्दानसक्दै कसैले दाइ भनेर बोलायो। उनी सबिता पाल थिइन्।

केहीअघि सुर्खेत बस्थिन्, त्यहीँ छँदा चिनजान भएको थियो। कोरोनाका कारण गत वर्ष भएको लकडाउनमै उनले सुर्खेत छाडेकी थिइन्। त्यतिबेला यात्रामा पाएको दुःख सुनाइन्। मेरो घर, परिवार, छिमेक सबैको हालखबर सोधिन्। अनि आफ्नो गाउँ डुलाइन्। त्यसपछि पिप्लाङमा हाम्रो पनि कोही छ जस्तो भयो। त्यस रात सबिताको घरको छिमेकमा बिहे थियो। बिहेघरमा केहीबेर डेउडा सुन्यौं। र, सुत्यौं।

भोलिपल्ट पिप्लाङ छोड्ने दिन। त्यसपछिको हाम्रो गन्तव्य अदानचुली थियो। त्यो कता पर्छ भन्ने हामी दुबैलाई थाहा थिएन। न बाटो नै थाहा थियो। बाटो थाहा नभए पनि यात्रामा निस्किएका थियौं हामी। हिँड्ने सबै बाटो कहाँ थाहा हुन्छ र?

हिँड्नुअघि होटलको बिल तिर्नु थियो। तिर्‍यौं। तर, अचम्मको के भने– अस्ति बेलुका खाना खाँदा मासु नदिएपछि हामीले एउटा प्याज काटिदिनू भनेका थियौं। त्यसको ५० रूपैयाँ जोड्ने कुरा गरे। हामीले यो त अति भयो भन्यौं। साहुजीले गाडी, खच्चड र भरियाको भाडा जोड्दा महँगो भएको भने।

पिप्लाङमा तरकारी राम्रो हुन्थ्यो। हिजो दिउँसो प्रहरी चौकीमा नुहाउन जाँदा हामीले हरियो तरकारी देखेका थियौं। त्यहाँ पानी पनि थियो। उनीहरूले मेहनत पनि गरेका थिए। हामीले एक छाक साग टिपेर होटलमा ल्यायौं। पिप्लाङको बाँझो बारीमै टन्न प्याज फलाउन सकिन्थ्यो होलाजस्तो लाग्यो।

हामी हाँसीखुसी पिप्लाङबाट बिदा भयौं।

रमाइला दुई रातः

पिप्लाङदेखि बाख्रेसम्म पुर्‍याउन जूनबहादुर हामीसँगै हिँडे। पिप्लाङबाट पौने घण्टा दुरीमा सलिसल्ला थियो। त्यहाँ स-साना दोकान थिए। हिमाली जिल्लाको यात्रामा हामीले दूधदही खान पाएका थिएनौं। घाँसपरालको अभावमा होला सायद जहाँतहीँ पशुहरू दुब्ला देखिन्थे। त्यस्ता दुब्लाबाट दूध कसरी आउला र!

सलिसल्लामा भने भैंसी पालेको देख्यौं। दूधदही सोध्न जूनबहादुर सडक मुन्तिरको दोकानमा गए। ‘छ’ भनेपछि हामी पनि गयौं। एकएक बटुका दहीसँग कोदो र जौ मिसाएर पिसेको पिठोको रोटी र भाँगोको चट्नी खायौं। बिहानको ९ बजिसकेकाले भोक छिप्पिँदै थियो। अब कति हिँड्नुपर्ने हो? खाना कहाँ खान पाइने हो? केही थाहा थिएन।

सलिसल्ला हुम्ला कर्णाली र लोती खोलाको दोभान हो। सर्केगाढ हुँदै सिमकोट जाने बाटो यहाँबाट उत्तरतिर जान्छ। हामी भने कर्णालीसँगै पश्चिम लाग्यौं। सलिसल्लामा पक्की पुल भएको भए मोटर सजिलै चंखेली पुग्थ्यो। आकाशमा बादल आएकाले शीतल थियो। हिँड्ने बाटो सिधा। मोटर बाटो। नेपाली सेनाले ठाउँ ठाउँमा बाटो फराकिलो बनाउन ‘ब्लास्ट’ गर्दै थियो। अग्लाअग्ला भिरको मुन्तिर लुखुरलुखुर हिँड्दा हामी रोमाञ्चित भयौं।

अदानचुलीका आइटी अधिकृत सुरेन्द्र फडेरासँग हिजो कुरा भएअनुसार हामीलाई लिन जीप आउनुपर्ने हो। तर बिहानैदेखि बादल आएको छ। त्यसैले टेलिफोनको टावर गएको छ। बेलाबेला फोन लाग्छ कि भन्दै हामी प्रयासरत रह्यौं। चंखेलीबाट हिँडेरै अदानचुली पुग्न दुई दिन लाग्ला। त्यसमा पनि हामी हिँड्न नसक्नेलाई कति भन्ने। बाटोमा जूनबहादुरले आफ्ना कहानी सुनाए। हामीलाई रमाइलो भयो। कर्णालीले छुट्याएको मुगुको सोरु र हुम्लाको सर्केगाडका अग्ला पहाड हेर्दै हिँड्यौं।

धेरै थकाइ लागेको त होइन तै पनि कतिबेला अदानचुली पुगिएला भन्ने हुन्थ्यो। पानी पर्‍यो भने बाटो बिग्रेला भन्ने डर थियो। बाख्रे पुग्नेबेला जूनबहादुर खुसी देखिए। किनकि त्यहाँसम्म गाडी आउन सक्छ भन्ने अनुमान थियो। अस्ति मात्रै बाख्रेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री आएर फर्केका थिए। उनलाई झार्न सडकको छेउमा हेलिप्याड बनाइएको थियो। भिरबाट लडेर मरेका आफ्ना कार्यकर्तालाई श्रद्धाञ्जलि दिन उनी त्यहाँ पुगेका थिए रे। त्यही मौकामा उनले बन्दै गरेको कर्णाली करिडोर आकाशबाट हेरे। हामी भने हिँडेरै त्यसलाई छिचोल्दै थियौं।

बाख्रेमा गाडी नदेखेपछि हामी फेरि हिँड्यौं। सडक निर्माण जारी रहेकाले कतैकतै बाटो अप्ठ्यारो थियो। केहीबेर हिँडेपछि नेरघाट पुगियो। सिमसिम पानी परेको थियो। फोन कसैगरी लाग्दैन। के उताबाट हामीलाई लिन गाडी आउँदै होला?

नेरघाटनेर बिजुली निकालिएको छ। लघु जलविद्युत्। त्यहाँको बिजुली अग्लो पहाड चढेर उत्तरतिर गएको छ। बिजुली निकालेको ठाउँ मुगुको सोरु हो। बिजुली हुम्लाको सर्केगाड लगिएको छ। अन्तरपालिका समन्वय पनि लिजाको एउटा सूचक हो। हिजो फोनमा कुरा हुँदा सुरेन्द्रले ‘नेरघाटसम्म गाडी पठाउन सकिन्छ होला’ भनेका थिए। नेरघाट पुगेपछि भने गाडी आउँछ कि भन्ने लाग्यो।

सडकको छेउमा त्यहाँ एउटा दोकान थियो। दोकानको एउटा कुनामा ठाडो गरेर काठको फलेक राखिएको थियो। त्यसको माथितिर चारवटा फलामका काँटी ठोकिएको थियो। त्यहाँ फोनको टावर दिन्छ रे। साहुजीले आफ्नो पिटपिटे मोबाइलमा हामीले दिएको नम्बर डायल गरेर त्यहाँ राखे। फोन गयो। हामी खुसी भयौं। एकातिर हाम्रो गाडीवालासँग कुरा हुँदै थियो। अर्कोतिर हामीले स्थानीय वैज्ञानिक र तिनको नवप्रवर्तन देखेका थियौं।

तर घण्टी जाँदाजाँदै मोबाइलको ब्याट्री सकियो। स्विच अफ भयो। सिमसिम पानी परिरहे पनि हामी एकएक करुवा पानी खाएर बाटो लाग्यौं। त्यसपछि भने जूनबहादुरलाई औंसी लाग्यो। अँध्यारा भए। हामीले दुःखसुख हेरौंला, हिँड भन्यौं।

हामी हिँड्दै खच्चा पुग्यौं। पारिपट्टी माथि हेर्दा मुगुको फोतु गाउँ थियो। पानी अलि ठूलो पर्न थाल्यो। हामी सडकछेउमा रहेको सानो होटलभित्र पस्यौं। जूनबहादुरले फोतुमा आफ्नी प्रेमिका रहेको प्रसंग झिके। यत्तिकैमा बाहिर गाडी आयो। जूनबहादुर दगुर्दै बाहिर गएर हेरे। त्यो हामीलाई लिन आएको जीप थियो। जूनबहादुर खुसी भए। गाडीमा सुरेन्द्र पनि आएका रहेछन्। उनले हामीलाई बाटैमा अबिर र खादा लाइदिए। हामीले यस्तो अपेक्षै गरेका थिएनौं। त्यसपछि जूनबहादुर पूर्व, हामी पश्चिम भयौं।

बालुकुनाबाट हामी सर्केगाडको सीमाना काटेर अदानचुली लाग्यौं। बडखोला तर्नासाथ कर्णाली किनारमा ठूलो फाँट देखियो। तुम्च। फाँटमा हरियो गहुँबाली थियो। मनमोहक। हामीलाई लिन आएको रिजर्भ जीपले मिलेसम्म मान्छे चढाउँदै र ओराल्दै गरिरह्यो। गल्फागाडबाट मूलबाटो छोडेर गाडीमै केहीबेर उकालो चढेपछि अदानचुली पुगियो। उत्तरपूर्व फर्केको पाखोमा श्रीनगर थपक्क बसेको थियो। त्यहीँ हाम्रा रमाइला दुई रात बिते।

पढ्नुस्ः भाग १- मनले बाम गाउँभन्दा अगाडि पाइला चाल्नै मानेन

भाग २- ट्रयाक्टरको छतमा बसेर हुम्लाको बाटो

याे डायरी सेतोपाटीबाट साभार गरिएको हाे ।