२२ मंसिर २०७८, बुधबार

कोभिड प्रभावितका सारथी अनिल


कर्णालीमा कोभिडको सङ्क्रमण बढिरहेको थियो , अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिसकिएको थियो । मानिसहरू घरमै बसिरहेका थिए, सामाजिक सञ्जालमा अभ्यस्त हुने क्रम बढिरहेको थियो । सामाजिक सञ्जालमा कोभिडको बारेमा आएका डरलाग्दा समाचार र मृत्युको तथ्याङ्कले मानिसहरूलाई डर पैदा गरिरहेको थियो ।

यसले मनोवैज्ञानिक रूपमा समेत आम नागरिक कोभिड सङ्क्रमित र सङ्क्रमितका आफन्तहरूलाई नकारात्मक प्रभाव पार्छ भन्ने लागेपछि सुर्खेतका युवा अनिल ढकाललाई लाग्यो, अव त केही फरक गर्नुपर्छ । केही फरक र केही सकारात्मक सन्देश पनि दिनुपर्छ जसले गर्दा यो कोभिडको भयबाट मानिसहरूलाई मनोवैज्ञानिक रूपमा स्वस्थ राख्न सकिन्छ ।

त्यसपश्चात् उनको नेतृत्वमा सुर्खेतका युवाहरूले एउटा फेसबुक पेज खोजे कोभिड जित्दैछ कर्णाली । यो पेजबाट हरेक दिन स्वास्थ्यकर्मी, जनप्रतिनिधी आदिले लाइभ आउने र कोभिडको विषयमा सचेत बनाउँदै सकारात्मक ऊर्जा भर्ने काम गरिरहेका छन् । विगत एक महिनादेखि यो अभियान चलिरहेको छ । पेजबाट कोभिडको सङ्क्रमणबाट जोगिने उपायहरूको बारेमा सूचित त गरिन्छ नै , कोभिड जित्दै गरेका तथ्याङ्कहरू पनि  शेयर गरिन्छ । ढकालको सक्रियता यहीँ रोकिएँ । उनकै नेतृत्वमा कर्णाली प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगर आइसोलेसनमा कोभिड हेल्प डेस्कको सुरुवात भयो । मध्यपश्चिम विश्वविद्यालयको सामाजिक कार्यका विद्यार्थीहरूले यसमा सेवा दिए । हेल्प डेस्कले कोभिडको सम्बन्धमा सूचना प्रवाह गर्ने काम गरेको थियो । हाल विविध कारणले यी डेस्क सञ्चालनमा छैनन् ।

त्यसपछि फेरि ढकालले कोभिडको कारण मृत्यु भएका र आफन्त अत्यन्त कम वा हुँदै नभएका व्यक्तिहरूको शव व्यवस्थापनमा समस्या देखे, सामाजिक सञ्जालमा सहयोग अपिल गरे र २ जना त्यस्ता मृतकको रितपूर्वक दाहसंस्कार गर्न सहयोग पुर्‍याए । एउटा व्यक्तिको प्रयासमा जे जे भइरहेको थियो , त्यसमा स्थानीय प्रशासनको ध्यान तानियो ।

राज्यको दायित्व एउटा व्यक्तिले निर्वाह गरिरहेको देखेपछि स्थानीय प्रशासनले कोभिडका कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनको लागि सम्बन्धित निकायलाई जिम्मेवार बनायो । नेपाली सेनाले दाहसंस्कारको व्यवस्थापन गरिरहेको छ भने श्रोत राज्यले जुटाइरहेको छ । यो समस्या पनि समाधान भइसकेपछि ढकाल फेरि अक्सिजनको अभाव तथा कोभिड सङ्कटमा प्रदेश सरकारका जिम्मेवार  हुनपर्छ भनेर स्थानीय युवाहरूलाई लिएर मुख्यमन्त्री कार्यालय अगाडी धर्ना बसे । धर्ना गर्दागर्दै मुख्यमन्त्रीले उनीहरूसँग बैठक गरे र विकल्पहरू खोजे ।

ढकालले तत्काल कर्णालीमा स्वयंसेवक समूह बनाएर कोभिड विरुद्धको प्रतिकार्यमा लाग्नुपर्ने बताए । नभन्दै त्यस लगत्तै बसेको कर्णाली प्रदेश मन्त्रीपरिषद् बैठकले कोभिड प्रतिकार्यको लागि स्वयंसेवक गठन गर्ने निर्णय गरे । हाल ढकालकै नेतृत्वमा यो समूह निर्माणको काम भइरहेको छ । ढकालकै नेतृत्वमा सुर्खेतमा अटो एम्बुलेन्सको सुरुवात भयो र हाल ३ वटा अटोले कोभिडको सङ्क्रमित अस्पतालसम्म पुराइरहेका छन् । उनकै नेतृत्वमा हाल कर्णाली प्रदेश आयुर्वेद अस्पतालमा रहेको आइसोलेसनमा रहेका बिरामी र बिरामीका कुरुवाहरूलाई बिहान र बेलुका अमृत भोजन गराइएको छ ।

खागसरि कोभिड विरुद्ध लड्न रोग प्रतिरोधी क्षमता बढी हुनुपर्ने भएकोले यस्तो क्षमता बढाउने किसिमको भोजन खुवाइँदै आइएको छ ।  ढकालको प्रयास यही रोकिएको छैन ,अहिले उनले निषेधाज्ञाका कारण अलपत्र परेका नागरिकहरूलाई कसरी गन्तव्य सम्म पुर्‍याउन सकिन्छ भनेर काम गरिरहेका छन् । सुर्खेत बसपार्कमा हेल्प डेस्क सुरु हुँदै छ , गाडीका समितिसँग समन्वय गरिरहेका छन् । ढकाल भन्छन् , ‘आज अरूलाई परेको सङ्कट भोलि मलाई पर्न सक्छ । हामी युवाहरूले सधैँ सबै कुरामा राज्यको मुख ताकेर मात्र हुँदैन  । कति समस्याहरू त हाम्रा साना प्रयासले मात्र पनि समाधान भइदिन्छ । पछि पछि त राज्य आउन पर्छ नै । ’