२२ मंसिर २०७८, बुधबार

‘पर्यटनमा पुर्वाधार विकास जरुरी, हाेमस्टेलाइ प्राथमिकता दिउँ’


कर्णाली प्रदेश सरकारले आउँदो असार १ गते प्रदेशको आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट ल्याउँदैछ । विकासका सबैजसो सुचकहरुमा पछाडी रहेको प्रदेशको विकासका लागि कोरोना महामारीले अँझै चुनौती थपिदिएको छ । कोरोना महामारीका कारण कर्णाली प्रदेशमा अन्य क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा पनि असर पर्यो ।कर्णाली  पर्यटनमार्फत समृद्धीको सम्भावना रहेकाे प्रदेश हाे ।  हामिले प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०७८/०७९ को वजेटको लागि नागरिक र विज्ञहरुको तर्फबाट सुझाब दिनका लागि भ्वाइसेस फर बजेट’ नामक स्तम्भ सुरु गरेका छौं । तेस्रो श्रृङखलामा हामिले प्रदेश सरकारले  पर्यटन क्षेत्रमा कस्ता खालका कार्यक्रमहरुका लागि वजेट विनियोजन गर्न जरुरी छ?  भन्ने प्रश्न प्रदेशका पर्यटन क्षेत्रसंग सम्बन्धित जानकारसँग राखेका छौँ ।

‘पर्यटनका लागि सहज सडक पुर्वाधार र प्रचारप्रसारको लागि संयन्त्र आवश्यक’

बासना थापा
पर्यटन व्यवसायी

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९  को लागि बजेट ल्याउँदै छ। त्यसमा विशेष गरी कर्णाली प्रदेश को  विशेष सम्भावना रहेको क्षेत्र पर्यटनलाई महत्त्वका साथ हेर्न जरुरी छ ।

कर्णाली प्रदेशमा रहेका विभिन्न ठाउँका  पर्यटकीय  स्थलहरूमा रूपमा यातायातको सुविधा हुनुपर्छ । सुर्खेत देखि डोल्पासम्म र सुर्खेत देखि  मुगु र हुम्ला  सम्म सहज रुपमा यातायातको सुविधा हुनु सबैभन्दा जरुरी छ । ती सडकहरूका आसपासमा ठाउँ ठाउँमा पर्यटकहरूलाई अर्ग्यानिक खाना खुवाउनुको लागि होमस्टे गराउनुपर्छ ।

पर्यटनसँग जोडिएको कुरा पर्यटकहरू आउँदै गर्दा बस्ने राम्रो होटेलहरू नपाइएको अवस्था हुन्छ । त्यस कारण सरकारले निजी क्षेत्रलाई होटेल स्थापनाको लागि  सहज वातावरण सिर्जना गर्नुपर्छ । पहिलो कुरा सहज रूपमा यातायातको व्यवस्था हुनुपर्छ । सुरुमै सबै सडकहरू  कालोपत्रे गर्न नसके पनि    नपुगेको ठाउँमा सडक पुर्‍याउने र सडक पुगेको ठाउँमा स्तर उन्नति गर्ने गर्नुपर्छ । प्रदेशमा भएका पर्यटकीय स्थलहरूको पर्याप्त मात्रामा प्रचारप्रसार नभएको अवस्था छ । यसमा सरकारले ध्यान दिएको छैन ।  सरकारले छुट्टै एउटा प्रचारप्रसारको लागि संयन्त्र निर्माण गरी प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्छ ।

‘पर्यटन मन्त्रालय नै पर्यटनबारे चासाे दिदैन, पर्यटनबारे सबै कर्णालीबासीको चासाेको विषय बन्नुपर्यो’

देवीकृष्ण रोकाय 
पर्यटन व्यवसायी

सबैभन्दा पहिलो कुरा प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पर्यटन मैत्री हुनु पर्छ । मन्त्रालयमा यसभन्दा अगाडि वन मन्त्रालयमा काम गरेका कर्मचारीहरू रहेका छन् । पर्यटन मन्त्री र त्यहाँका सचिवलगायत कर्मचारीहरूले पर्यटनको बारेमा धेरै बुझ्न र जान्न आवश्यक छ ।

मन्त्री तथा कर्मचारीहरूले पर्यटन प्रति सबैभन्दा पहिले चासो राख्नु पर्‍यो । कर्णालीमा पर्यटनको धेरै सम्भावना भए पनि यहाँका धेरै मानिसहरूमा पर्यटनको बारेमा चासो छैन ।  अन्त र राज्यको नीति निर्माण गर्ने ठाउँमा पुगेका कर्णाली प्रदेशका नागरिकहरू र कर्णालीका  पर्यटन व्यवसायी बिच समन्वय र सहकार्य हुन सकेन । उनीहरूले एक आपसमा एक अर्कालाई चिनेनन् ।

कर्णालीमा पर्यटकीय स्थलहरूको प्रचारप्रसार एकदमै कम भयो । त्यसैले प्रदेश सरकारले कर्णाली प्रदेशका पर्यटकीय स्थलहरूलाई प्रचारप्रसारमा विशेष ध्यान दिनु जरुरी छ । कर्णाली प्रदेशमा हवाई यातायातको सहज सुविधा छैन  यसलाई सुधार गर्न आवश्यक छ । कर्णाली प्रदेशले आफै अथवा केही प्रतिशत नागरिकको समेत सेयर लगानी गरी कर्णाली एयरलाइन्स  बनाउन जरुरी छ ।

यदि त्यो हुँदैन भने पनि नेपाल एयरलाइन्सका जहाज कर्णालीमा ल्याउनुपर्छ । पर्यटन व्यवसायीहरूलाई  सहुलियत दरमा कर्जा प्रवाह गर्ने गरी बजेट विनियोजन गर्नु पर्‍यो जसले गर्दा पर्यटन व्यवसायीहरूको सङ्ख्या बढ्न जान्छ । सुर्खेतदेखि रारा सम्म ठाउँ ठाउँमा होमेस्टेहरु सञ्चालन गर्नुपर्छ । त्यस्तो खालको होमेस्टेहरुर होटेलहरू सञ्चालन गर्ने व्यवसायीहरूलाई अनुदान अथवा सौर्य दरमा कर्जा प्रवाह गर्ने व्यवस्था सरकारले गर्नुपर्छ ।

स्थानीय तहलाई जिम्मा दिएर प्रत्येक स्थानीय तहमा एउटा होमस्टे सञ्चालन गर्नको लागि व्यवस्थापन गर्नुपर्छ । कर्णाली राजमार्ग मृत्यु मार्गको रूपमा परिचित रहेको छ । त्यसको स्तरोन्नति गरी पूर्वाधार विकासमा विशेष ध्यान दिनु जरुरी छ ।कुनै पर्यटकहरूले मोटर बाटो मन पराउँदैनन् । कर्णाली प्रदेशमा विभिन्न स्थानहरूमा पर्यटकीय पदमार्ग बनाउनका लागि बजेट विनियोजन गर्नु पर्छ । व्यवसायीहरूलाई एकदमै समस्या छ उनीहरूलाई कर छुटको व्यवस्था गर्न जरुरी छ । पर्यटन क्षेत्रका विज्ञहरूलाई राखेर कर्णाली प्रदेशको पर्यटन बोर्ड गठन गर्न जरुरी छ । प्रदेश सरकारले पर्यटन क्षेत्रमा निजी क्षेत्रलाई लगानी गर्ने वातावरण गराउनु जरुरी छ । रारा तालको  विकास र प्रचार प्रसारको सन्दर्भमा केन्द्रीय सरकारको  लुम्बिनी विकास बोर्ड अथवा पशुपति विकास बोर्ड जस्तै अधिकार सम्बन्ध रारा विकास बोर्ड गठन गर्न जरुरी छ ।

‘सबै पर्यटकीय गन्तब्यहरुको पहिचान गरी ठोस विकासका लागि वजेट ल्याउनुपर्छ’

ललितजंग महत
 संयोजक, आन्तरिक पर्यटन पुनर्जागरण समिति, कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारले ल्याउँदै गरेको आगामी आर्थिक वर्षको बजेटमा  कोभिड प्रभावित पर्यटन व्यवसायीहरूको लागि विशेष प्याकेज ल्याउनुपर्छ ।कसरी उनीहरूलाई पुनर्जीवित गराउन सकिन्छ भन्ने खालको कार्यक्रम ल्याउनुपर्छ ।

अहिले पर्यटनको कुरा पर्यटकीय पूर्वाधार विकासमा मात्र भएको छ । त्योभन्दा प्रदेशका पर्यटकीय गन्तव्यहरूको बढीभन्दा बढी पहिचान गरी अगाडि बढ्नुपर्छ । बजेट ल्याउँदै गर्दा टुक्रे बजेटभन्दा पनि ठोस बजेटमा ध्यान दिनुपर्छ । प्रचारात्मक बजेटलाई भन्दा परिणाममुखी  बजेटलाई ध्यान दिनुपर्छ ।

 

‘अर्ग्यानिक बस्तुहरूलाई ब्रान्डिङ गरेर पर्यटकहरूलाई बेच्ने व्यवस्था गर्नुपर्छ’

चिन्तामणी शर्मा पर्यटन व्यवसायी

कर्णाली प्रदेशमा पर्यटनको विकासको लागि सबैभन्दा पहिले पर्यटकीय पूर्वाधारहरूको निर्माण तथा पुनः निर्माण  लागि आवश्यक   बजेट विनियोजन गर्नुपर्छ ।  पर्यटकीय स्थलहरूमा सहज सडक पुर्‍याउनुपर्छ । कर्णाली प्रदेशको मुख्य पर्यटकीय स्थल  रारासम्म फराकिलो कालोपत्रे सहज सडक पुर्‍याउनु पर्‍यो । हुम्ला  बाट मानसरोवर जानको लागि सुर्खेतदेखि  हिल्सासम्म दुर्त मार्ग छिटो भन्दा छिटो निर्माण हुनुपर्छ । पर्यटनको लागि सञ्चार  होटेल  र सडक लगायतका पूर्वाधारहरूको निर्माणमा ध्यान दिनुपर्छ ।

भेरी र कर्णाली नदीमा र्याफ्टिङ  सम्भावना  छ ।अहिलेसम्म आन्तरिक पर्यटकहरू बाट मात्रै राफ्टिंग सञ्चालन भइरहेको छ । पहिलो कुरा छिमेकी मुलुक भारतको विहार उत्तर प्रदेश र दिल्ली  नजिकका स्थानहरूमा  प्रचारप्रसार गरी र्याफ्टिङ  लाई प्रवर्द्धन गर्नुपर्छ ।  यहाँ कर्णाली र भेरी नदीमा राफ्टिंग  सम्भावना रहेको छ । त्यसको लागि प्रचारप्रसार गरी विदेशी पर्यटक ल्याउनुपर्छ । त्यसको लागि राज्यले सामान्य पर्यटकीय पूर्वाधारहरूको विकास गरिनुपर्छ ।

पर्यटकहरूको लागि ठाउँ ठाउँमा होटेल खोल्नको लागि निजी क्षेत्रलाई उत्साहित गर्ने नीति ल्याउनुपर्छ । ठाउँ ठाउँमा होमस्टे हरूको विकास गर्नुपर्छ । पर्यटक जाने रुटहरूमा सुरक्षाको व्यवस्था गर्नुपर्छ ।यहाँ जुन चिजलाई पनि अर्ग्यानिक भन्न थालिएको छ ।  तर राज्यले पहिचान गरी अर्ग्यानिक बस्तुहरूलाई ब्रान्डिङ गरेर पर्यटकहरूलाई बेच्ने व्यवस्था गर्नुपर्छ । पर्यटकहरूलाई तान्ने ट्राभल एजेन्सीहरू स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ । जसका कारणले पर्यटकीय स्थलहरूको प्रचारप्रसार बढ्न जान्छ ।