२२ मंसिर २०७८, बुधबार

संस्कृति, युवा तथा खेलकुद क्षेत्रमा प्रदेशको आगामी बजेट कस्तो चाहन्छन् सरोकारवाला ?


कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९  को लागि बजेट आगामी असार १ गते ल्याउँदै छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९  को लागि नागरिक स्तरबाट सुझाव दिनका लागि कर्णाली प्रदेशमा जबाफदेहिता खोजिरहेको युवाहरूको साझा मञ्च तन्नेरी चासो सुर्खेत र कर्णाली प्रदेशको थिंक ट्याङ्क ऋति फाउण्डेशनसँगको सहकार्यमा हामीले ‘भ्वाइसेस फर बजेट’ स्तम्भ सुरु गरेका छौँ । यो स्तम्भको सातौँ श्रृंखला हो । यो शृङ्खला  कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको  बजेटमा कला/संस्कृती, युवा तथा खेलकुद  क्षेत्र कसरी समेटिनुपर्छ भन्ने विषयवस्तुसँग सम्बन्धित छ ।

 

हिरा बिजुली नेपाली
रङ्गकर्मी

‘कर्णाली प्रदेशमा रहेका परम्परागत एवं ऐतिहासिक कला संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने किसिमका बजेट ल्याउनुपर्छ’

कलामा एवं संस्कृतिको क्षेत्रमा विनियोजन गरिएको बजेटलाई वास्तविक रङ्गकर्मी एवं संस्कृति संरक्षण कर्मीहरूलाई खर्च गर्ने गरी व्यवस्था गर्नुपर्छ । नकि खरिदार सुब्बाहरूलाई नाटक  महोत्सव गर्नका लागि बजेट दिने गर्नुहुँदैन । कला एवं संस्कृतिको क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेकाहरूलाई वास्ता नगर्ने किसिमको बजेट  ठिक हुँदैन ।

कर्णाली प्रदेशमा रहेका परम्परागत एवं ऐतिहासिक कला संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने किसिमका बजेट ल्याउनुपर्छ । बजेट जहिले पनि विनियोजन हुन्छ तर त्यो प्रायजसो खर्च हुँदैन । जसको कारण बजेटको कार्यान्वयन गर्ने  तहमा रहेका कर्मचारीहरूले त्यो कुरा नबुझ्नु हो । कर्मचारीहरूले कलाकर्मी र रङ्गकर्मी हुलाई सम्मान गर्न  सक्दैनन् । कलाकर्मीहरूको पढेका हुँदैनन् लगायतका सोच उनीहरूमा हुन्छ । एउटा कलाकर्मीको लागि पुरा समय संस्कृति र कलाको   क्षेत्रमा लागिरहेका हुन्छन् ।

अबको बजेट यस्तो हुनु जरुरी छ कि सिधा स्थानीय कलाकर्मी र  संस्कृतिकर्मीहरूको प्रत्यक्ष सहभागिता नभई कन बजेट  कार्यान्वयन नहुने व्यवस्था  आवश्यक छ ।अर्को कुरा बजेट अनुसन्धानमूलक छैन । त्यस कारण अबको बजेट  कला संस्कृतिको क्षेत्रमा पनि अनुसन्धानमूलक हुनुपर्छ ।  जस्तै देउडाको अनुसन्धानको लागि बजेट विनियोजन हुनुपर्छ ।

 

अनिल ढकाल
युवा

‘हरेक वडा र हरेक  टोलमा  सार्वजनिक पुस्तकालयको व्यवस्था गर्नुपर्छ’

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा युवाहरूलाई समेट्दै गर्दा उनीहरूका समस्या समाधानका विषयलाई प्राथमिकता दिनुपर्छ । युवाहरूलाई खेलकुदका लागि सहज वातावरण सिर्जना गर्नुपर्छ ।

वडा स्तरदेखि खेलकुद मैदान र खेल सामग्रीको सहज व्यवस्थापन हुनुपर्छ । हरेक वडा र हरेक  टोलमा  सार्वजनिक पुस्तकालयको व्यवस्था गर्नुपर्छ ।  जसबाट युवाहरू अध्ययनशील हुन्छन् ।  युवाहरूलाई सीप विकासका तालिम दिने गरी  बजेटमा व्यवस्था गर्नुपर्छ ।

अहिले युवाहरूमा आफ्नो गाउँ ठाउँको माया छैन । आफ्नो मातृभूमि  गाउँ ठाउँको माया जगाउनका लागि प्रदेश सरकारले विशेष प्याकेज ल्याउनुपर्छ ।

सजना सुनार
युवा

‘युवाहरूलाई स्वरोजगार बनाउन प्राथमिकतामा हुनुपर्छ’

बेरोजगार युवाहरूको सङ्ख्या अत्यधिक रहेको कर्णालीमा कोभिडका कारण औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत युवाहरू बेरोजगार हुने निश्चित छ ।

त्यसर्थ युवाहरूलाई स्वरोजगार बनाउन प्राथमिकतामा पर्नुपर्छ । युवाहरूलाई सिपमूलक तालिम प्रदान गर्नुपर्छ । सिपमूलक तालिम प्राप्त गरेका युवाहरूलाई बिना धितो सस्तो ब्याजदरमा ऋणको व्यवस्था गरिनुपर्छ ।

युवाहरूले सञ्चालन गरेको व्यवसायबाट उत्पादित कृषिजन्य र पशुजन्य बस्तु बिक्री वितरणमा सहजीकरण गर्ने ग्यारेन्टी गरिनुपर्छ । दलित समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेको छ ।

त्यस्ता व्यवसायलाई उकास्न दलित समुदायका युवाहरूलाई बिना व्याज/बिना धितो ऋण दिएर व्यवसाय सञ्चालनको व्यवस्था मिलाई दलित समुदायको आर्थिक स्तर उकास्नुपर्छ । आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाबाट वञ्चित रहेका कर्णालीका युवाहरूको पहिचान गरेर प्राविधिक तथा सिपमूलक तालिमको व्यवस्थापन हुनुपर्छ ।

अमर चन्द
खेलाडी

‘खेल सामग्रीहरूको सहज उपलब्धताका साथै सहज पूर्वाधार खेलाडीहरूलाई प्रोत्साहनका लागि अनिवार्य ध्यान दिनुपर्छ’

हालसम्म प्रदेश सरकारले खेलकुदका लागि खासै ध्यान दिएको छैन । यसभन्दा अगाडिका  बजेटहरूमा प्रदेश सरकारले खेलकुदमा  खासै प्रभावकारी बजेट ल्याउन सकेको थिएन । खेलकुदमा सबैभन्दा पिछडिएको कर्णाली प्रदेश नै हो ।

यसका लागि प्रदेश सरकारले खेलकुद क्षेत्रमा पूर्वाधार विकास, खेलाडीहरूलाई तालिम  प्रोत्साहन आदी विषयमा ध्यान दिनुपर्छ ।

खेल सामग्रीहरूको सहज उपलब्धताका साथै विशेष गरी सहज पूर्वाधार खेलाडीहरूलाई प्रोत्साहनका लागि अनिवार्य ध्यान दिनुपर्छ ।

क्रमशः

१. कर्णालीमा स्वास्थ्यको लागि कस्तो बजेट आउनुपर्छ ?

२.वाणिज्य क्षेत्र कस्ताे चाहन्छ कर्णाली प्रदेशकाे आगामी बजेट ?

३.‘पर्यटनमा पुर्वाधार विकास जरुरी, हाेमस्टेलाइ प्राथमिकता दिउँ’

४.‘आगामी बजेटमा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई उत्पादनमुलक वनाऔँ’

५.शिक्षामा बजेट : वैकल्पिक शिक्षण विधि विकासलाइ प्राथमिकता दिउँ 

६.जवाफदेहि सरकार आवश्यक, सेवा प्रवाहमा प्रविधिकाे प्रयाेगलाइ प्राथमिकता