२२ मंसिर २०७८, बुधबार

आगामी बजेटमा कृषि : प्रविधिमा जाेड दिऔँ, अनुसन्धान केन्द्र स्थापना गरौँ


कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९  को लागि बजेट आगामी असार १ गते ल्याउँदै छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९  को लागि नागरिक स्तरबाट सुझाव दिनका लागि कर्णाली प्रदेशमा जबाफदेहिता खोजिरहेको युवाहरूको साझा मञ्च तन्नेरी चासो सुर्खेत र कर्णाली प्रदेशको थिंक ट्याङ्क ऋति फाउण्डेशनसँगको सहकार्यमा हामीले ‘भ्वाइसेस फर बजेट’ स्तम्भ सुरु गरेका छौँ । यो स्तम्भको आठौँ श्रृंखला हो । यो शृङ्खला  कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको  बजेटमा कृषि क्षेत्र कसरी समेटिनुपर्छ भन्ने विषयवस्तुसँग सम्बन्धित छ ।

डा. कृष्णप्रसाद पौडेल
कृषि विज्ञ

‘कृषिमा प्रविधीकाे प्रयाेग गराैँ’

हामीले विगत देखी नै कर्णाली प्रदेश सरकारलाई यहाँको कृषि क्षेत्रको उत्थानको लागि विभिन्न सुझावहरू दिँदै आएका छौँ । कर्णाली खेतीपातीमा कमजोर, खान पनि नपुग्ने प्रदेशको रूपमा बिम्ब छ । त्यो वास्तवमा हाम्री खेती प्रणाली र खाद्य प्रणाली बाहिरबाट थोपरिएर भएको हो । त्यो कर्णालीको आफ्नै समस्या होइन । सबैको सोच ठुला ठुला सपना देख्ने र आधुनिक हुने भयो ।

कर्णालीका पाखाहरूमा खेती किसानी गर्ने, थोरै जमिन भएका, काला पहाड कमाउन जानुपर्ने बाध्यता भएका कर्णालीबासीहरुको खेती किसानी प्रवर्द्धन गर्ने कार्यक्रम कसैले ल्याएन । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषिमार्फत यस्ता कुराहरूलाई ध्यान दिन जरुरी छ । अहिले कोरोना भाइरसको कारण सबै क्षेत्र तहसनहस भएको छ । एउटा यसले स्वास्थ्य क्षेत्रमा असर गरेको छ । अर्को खानामा असर गरेको छ र भविष्यका लागि खानाका लागि खेतीमा अप्ठ्यारो परेको छ ।

यी तीन वटा कुराहरूलाई ध्यान दिएर अगाडी बढ्नुपर्छ । त्यसका लागि आवश्यक पर्ने पूर्वाधार, जनचेतनामूलक कार्यक्रम, स्वास्थ्यका लागि उपचार र रोग नियन्त्रणका उपायहरू आदि कुरामा ध्यान दिनुपर्छ । तर त्यस्तो ध्यान भएजस्तो मलाई लाग्दैन । दोस्रो कुरा के हो भने कर्णाली प्रदेश धेरै सम्भावना भएको क्षेत्र हो । तर त्यो सम्भावना हेर्न अहिले हामीले टाउकाले टेकेर जे देखेका छौँ , त्यसलाई उल्टाउनु पर्छ । खुट्टाले टेकेर हेर्नुपर्‍यो ।

कर्णालीका सम्भावनाहरूमा जडीबुटी,  औषधिमूलक बोटबिरुवाहरू, स्थानीय रैथाने पोषणयुक्त खानेकुराहरू, फलफूलहरू,  हिमाली क्षेत्रमा स्थानीय पशुपालन ।  एउटा  भेडा पाल्दा खेरी कति फाइदा हुन्छ भनेर विचार गर्‍यो भने दश वटा भेडा पाल्दा त्यहाँका मान्छेको जिन्दगी चल्छ ।  कर्णालीमा बिउ तथा फलफूल उत्पादन उस्तै सम्भावना भएको  छ । पशुपालनमा पनि त्यत्तिकै महत्त्वपूर्ण क्षेत्र हो । त्यसैले प्रदेश सरकारले सम्भव भएका कुरा गर्दैन । खाली ठुला ठुला कुरा मात्र गर्छ । स्मार्ट सिटी गराउने कुरा गर्छ। यस्ता हावादारी कुरा बाट मुक्त हुनुपर्छ । किसानहरूलाई उनीहरूकै कृषि उन्नत बनाउने कार्यक्रम चाहिन्छ । उनीहरूका लागि दिगो कृषि खानका लागि समाज संस्कृति अनुसारको कृषि जगाउने कार्यक्रम गर्नुपर्छ । अहिलेको समय अनुसार चल्नु पर्‍यो ।

हिजोको परम्परागत कुरा गरेर भएन । अनि हाम्रा प्रविधिहरू अलि फेर्नुपर्‍यो । अहिले पनि कर्णालीका दिदीबहिनीहरू काठको बाकसमा तेल पेल्नु पर्ने बाध्यता छ ।  त्यसमा  तेल पेलेर घरबार चलाउँछन् । हामी लोग्ने मान्छे  चाहिँ त्यसबारेमा कुरा गरेर मात्र  हिँड्छौँ । त्यस कारण कृषि उद्यमीहरूलाई प्रविधिको प्रयोग गर्न सहज उपलब्धता हुनुपर्छ । जसबाट समयको पनि बचत हुन्छ । त्यसैले कर्णालीमा  कृषि उत्पादन फलफूल उत्पादन खाद्यान्न उत्पादन तथा पशुपालनलाई  प्रोत्साहन  र गर्ने किसानलाई उत्साहित गर्ने नीति ल्याउनुपर्छ ।

जीवन शाही
कृषि अभियान्ता

‘कृषिका कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहसँग सहकार्य गराैँ’

सर्वप्रथम कोभिड १९ को महामारीमा खानेकुराको अभाव झेलिरहेका समुदायलाई लक्षित गरी खाद्यान्न र कामको बन्दोबस्त तत्काल मिलाउने कार्यक्रम आवश्यक रहेको छ ।

प्रदेश भरी कृषिलाई अत्यावश्यक कार्यक्रमका रुपमा लिई कृषकलाई प्रोत्साहित गर्ने, खेतीयोग्य तर प्रयोगमा नआएका निजी तथा सार्वजनिक जमिनहरूमा आम्दानीमूलक वृक्षारोपण र कृषि उत्पादन गर्न प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नु जरुरी रहेको छ । विदेशबाट फर्किएका, सहरवाट गाउँ पुगेका युवा, भूमिहीन किसान र बर्षौँदेखि यसबाट वञ्चित समुदायलाई यस्तो जमिन उपलब्ध गराउन सकिन्छ । बाँझो जमिनको उपयोगको सान्दर्भिकता ख्याल गर्दै उपयोग बढाउनका लागि प्रोत्साहन प्याकेज दिने बन्दोबस्त मिलाउनुका साथै बाँझो जमिनमा खेती प्रवर्द्धनका लागि सहकारीहरूलाई प्रोत्साहन तथा अनिवार्य खेती गर्ने नीति आवश्यक रहेको छ ।

किसानहरूको कृषि उपजहरू जस्तै तरकारी, फलफूल, दूधजन्य उत्पादनलाई खेर जानबाट रोक्न ढुवानीको तथा बजारको व्यवस्थापन गर्ने र यसको लागि सहुलियत तथा अनुदानको मापदण्ड बनाउनु आवश्यक छ । समूह तथा सहकारीमा आधारित कृषि उपज प्रशोधन, भण्डारण, बजारीकरण र वितरण प्रक्रियालाई सहज बनाउन कृषक समूह र साना किसानमा आधारित कृषि सहकारीलाई सहयोग गर्न सकिन्छ । कर्णालीको विविधता हावापानी सुहाउँदो कर्णाली क्षेत्रमा नै उपलब्ध स्थानीय बीउ बिजन, जैविक मल तथा विषादी र स्थानीय प्रविधिहरूलाई उन्नत बनाउन जोड दिने कार्यक्रम आवश्यक रहेको छ । प्रविधिमा खागसरि स्थानीय ज्ञानमा आधारित प्रविधिलाई स्तरीकृत र उन्नत बनाउन, महिलाको श्रमका बोझ घटाउने स—साना प्रविधिहरू जस्तै कुट्ने, पेल्ने मिल, सौर्य ऊर्जामा आधारित पानी तान्ने मोटर, खाद्य प्रशोधन, भण्डारण प्रविधिहरू विकास र प्रवर्द्धन गर्ने कार्यक्रमहरूमा जोड दिने साथै विद्युत् नचाहिने पानी घट्टमा आधारित प्रविधिहरूको अध्ययन, अनुसन्धान र परीक्षणको सम्भावना रहेको छ ।

दक्ष जनशक्ति उत्पादनका लागि कर्णाली प्रदेशका सबै शिक्षण संस्था, प्राविधिक तथा व्यावसायिक तालिम संस्थानहरूमा कर्णालीको विशेषतामा आधारित प्राङगारिक कृषिको पढाइका साथै सम्बन्धित सिप र प्रविधि विकासमा लगाउन सकिन्छ । कृषि, जडीबुटी र पशुलाई प्रवर्द्धन गर्नका लागि कर्णाली विशेषतामा आधारित अनुसन्धान केन्द्रहरू स्थापित गर्ने र यी अनुसन्धान केन्द्रले प्रदेशका उत्कृष्ट कृषकका फार्महरू सँग समन्वय गर्न सकिन्छ जसले गर्दा अध्ययन र स्तरीकरणलाई सहज बनाउँछ ।

कर्णालीको अर्थतन्त्रको जग भनेकै कृषि, जडीबुटी र पर्यटनमा आधारित हो । तर हालसम्म यसमा ध्यान पनि नहुनु र लाभ पनि नदेख्नु विडम्बना हो । हरेक नीति तथा कार्यक्रम, बजेट बनाउँदा कृषि, जडीबुटी र पर्यटनलाई मुख्य आधार मानी यी आधारको जग बसाउने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्छ । मुख्यतया प्रदेशका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहसँगको समन्वयलाई प्रभावकारी बनाउनु पर्ने देखिन्छ ।

क्रमशः

१. कर्णालीमा स्वास्थ्यको लागि कस्तो बजेट आउनुपर्छ ?