२२ मंसिर २०७८, बुधबार

मिडियामा महिला सांसदको उपस्थिति विषयक कार्यक्रम सम्पन्न


सुर्खेत । कर्णाली प्रदेश सभा सामाजिक विकास समितिको आयोजना र संसद् सहयोग परियोजनाको प्राविधिक सहयोगमा “सात वटै प्रदेश सभाका महिला माननीय सदस्यहरूका लागि मिडिया (सञ्चार माध्यम) मा महिला सांसदको उपस्थिति र  सञ्चार सीप सम्बन्धी”कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रवार सम्पन्न भर्चुअल   कार्यक्रममा कर्णाली प्रदेशसभाका उपसभामुख, कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री, कर्णाली प्रदेशसभाका सदस्यहरू र अन्य ६ वटा प्रदेशसभाका विषयगत समितिका सभापति र प्रदेशसभाका महिला माननीय सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा विज्ञको रूपमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता तथा आम सञ्चार विभाग, काठमाडौँमा कार्यरत उप प्राध्यापक घमराज लुइँटेल रहेका थिए ।

कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष माननीय देवी ओलीले कार्यक्रमको उद्देश्यसहित स्वागत मन्तव्य राखेकी थिइन् भने संसद् सहयोग परियोजनाको तर्फबाट डिलदत्त पन्थले पनि कार्यक्रममा  विषयमा मन्तव्य राखेका थिए ।

कार्यक्रममा “प्रदेश सभाका महिला माननीय सदस्यज्यूहरूका लागि मिडिया (सञ्चार माध्यम) मा महिला सांसदको उपस्थिति विषयक” भर्चुअल कार्यशालामा सञ्चार सीप सम्बन्धी अन्य विषयहरूका अतिरिक्त निश्चित समयभित्र आफ्नो सन्देश प्रवाह गर्ने कला र मिडिया प्रस्तुतिका सम्बन्धमा विभिन्न सीपहरू उपर व्यावहारिक रूपमा चर्चा भएको थियो र मिडियामा प्रस्तुत हुँदा कसरी प्रस्तुत हुँदा अझ प्रभावकारी हुन्छ भन्ने विषयमा विज्ञहरूबाट कार्यपत्र प्रस्तुत भएको थियो ।

 कार्यपत्र प्रस्तुती पश्चात खुल्ला छलफल कार्यक्रममा सबै प्रदेशका माननीयज्यूहरूले सक्रिय रूपमा छलफलमा भाग लिएका थिए । छलफल पश्चात् उठेका जिज्ञासाहरूको विज्ञद्वारा जिज्ञासा मेटाउने प्रयास गरिएको थियो ।