२२ मंसिर २०७८, बुधबार

गाउँमा ‘राँके जुलुस’ आएपछि…….


रातिको करिब साढे आठ बजेको थियो । बिजुलीका पोलहरू टल्किरहिने गाउँमा बिजुली पुगेको थिएन । गाउँमा उज्यालोको लागि सौर्य बत्ती सोलर प्रयोग गरिने रहेछ । सोलारको उज्यालोले गाउँलाई ‘उज्यालो’ बनाउन भने सकेको थिएन । ठाउँ–ठाउँमा लोसार बलेको झिलिक–झिलिक देखिन्थ्यो । हामीलाई त्यस अर्थमा गाउँमा टाढा–टाढा घर रहेछन् भन्ने लाग्दै थियो । तर एकैछिनमा गाउँ चारैतिर झिलिमिली हुन थाल्यो । हामी रहेको ठाउँभन्दा केही टाढा झिलमिल देखिएकोले हामीले त्यहाँ  बिजुली’ पुगेको अनुमान गर्यौँ। तर एकछिनपछि चारतिरका ति ‘बत्ती’ हरू यताउति हिँडेजस्तो लाग्न थाल्यो । अलि नजिकैसम्म ती बत्तीहरू आइपुग्न थाले । बिस्तारै एकैठाउँबाट करिब ८–१० वटा बत्तीहरू सँगसँगै हुन थाले । हामीले गाउँमा ‘देवता पूजा’ गर्न गाउँलेहरू जम्मा भएर हिँडेको हुनसक्ने अनुमान गर्यौँ । त्यो करिब १० मिनेटको समयमा कति अनुमान गरियो, गरियो । जस्तो कि ‘एक व्यक्ति, अनेक अनुमान’ भनेजस्तै । बसैले विवाह, रत्यौली, पूजाआजामा हिँडेको हुनसक्ने अनुमान गर्यौँ, कसैले के ।

बिस्तारै ती टिमहरू हामी रहेको ठाउँभन्दा नजिकै आउन थाले । उनीहरूले हातमा ‘आगोको राँको’ समातेजस्तै देखिन थाल्यो । बिस्तारै आवाजसमेत आउन थाल्यो । आहो…। आहाइ…..। बाहेक अरू भनेको सुनिएन, बुझिएन ।

त्यस्तो रातको समयमा ‘राँके जुलुस’ के को लागि गरेका होलान् गाउँलेले ? हामीले आपसमा यस्तै प्रश्न गर्यौँ । उत्तर अनुत्तरित थियो । दशेमा आन्दोलन धेरै हुन्छन् । त्यसैले कतै मान्छे धेरै जम्मा भए, वा केही कुरा भएको ठाउँमा आफू नपुग्दै र नबुझ्दै त्यहाँ आन्दोलन भएको अनुमान गर्ने अवस्था छ । प्रायजसो अनुमान पनि मिल्ने गर्छ । देशमा ‘एक दिन अनेक आन्दोलन’ हुन्छन् । सायद आन्दोलन नभएको दिन नै हुँदैन होला । दिउँसोमा त्यसरी सबैले हातमा आगो समातेर हिँडेको भए त आन्दोलन नै हुनसक्ने अनुमान गर्नै थियौँ । हामीले त्यहाँ पनि आन्दोलन हुनसक्ने शङ्का गर्न सक्ने ठाउँ पनि थिएन ।  यदि ‘राँके जुलुस’ निकालेर आन्दोलन भए पनि त्यस्तो रातिको समयमा नहुनुपर्ने अनुमान गर्यौँ ।

एकजनाले नारा लगाएजस्तो र अरूले त्यही कुरा वा अरू केही भनेजस्तो सुनिन थाल्यो । जिन्दाबाद भनेको जस्तो भने सुनिँदैनथ्यो । बिस्तारै त्यो ‘राँके जुलुस’ हामी भएको ठाउँ नजिकै आउन थाल्यो । अनि त्यहाँ लगाइएको नारा अलिअलि सुनिन थाल्यो । त्यसपछि सुनियो ‘भोसो’ भनेको ।

केहिबेरमै त्यो एउटा टिमको ‘राँके जुलुस’ हामी रहेका ठाउँबाट जाने सडकबाटै पश्चिमतिर लाग्यो । करिब १५ मिनेटको पर्खाइपछि उक्त ‘राँके जुलुस’ बारे वास्तविकता थाहा पायौँ । त्यो त ‘भोसो’ खेलेका पो रहेछन् । हातमा सबैजनाले आगोको राँको समातेका थिए । तर त्यो टोलीमा प्राय केटाकेटी उमेरका मात्रै देखिन्थे । एकजनाले ….. के…के नारा लगाएका थिए, अरू सबैजनाले हातमा रहेको आगोको राँको हल्लाउँदै ‘भोसो र भोसो’ भनिरहेका थिए । हामी नजिकैबाट उनीहरू आएपनि उनीहरूले लगाएको नारा भने स्पष्ट बुझिएको थिएन ।

कुरा गएको असार १५ गते साँझको । जाजरकोटको शिवालय गाउँपालिकाको केन्द्र भएको स्थान सीमा गाउँमा। रातको समयमा भएकोले ‘भोसो’ खेलेको फोटो र भिडियो राम्ररी खिच्न भने पाइएन ।

हामीले यसभन्दा अगाडी ‘भोसो’ बारे त सुनेका थियौँ । ‘भोसो’ खेल्ने गाउँ सुर्खेत पञ्चपुरीका एकजना दाइ पनि हामिसँगै हुनुहुन्थ्यो । तर त्यहाँको ‘भोसो’ फरक रहेछ । पञ्चपुरीमा तिहारको समयमा एक दिन सबैजना एकै ठाउँ गएर भोसो खेल्ने रहेछन् । तर शिवालय गाउँपालिका जाजरकोटमा भने असार १५ देखि साउन १ गतेसम्म हरेक दिन साँझ ८ बजेपछि करिब १० बजेसम्म लगातार ‘भोसो’ खेल्ने रहेछन् । ‘राँके जुलुस’ सहित गाउँभरि डुल्ने रहेछन् । हल्लाखल्ला गर्ने रहेछन् । ‘भोसो’ बारे हामीले स्थानीयसँग बुझ्ने प्रयास गरे पनि त्यति धेरै जानकारी पाउन भने सकेनौँ । स्थानीय होटेल शिवालयका साहुजीका अनुसार अन्नबाली पशुपंक्षिले नखाउन, प्राकृतिक  प्रकोप आइ नलागोस भनेर नै ‘भोसो’ खेलिँदो रहेछ ।