२२ मंसिर २०७८, बुधबार

संसदीय समितिको खुलापनः सामाजिक विकास समिति र पत्रकारहरुबिच भेटघाट


 सुर्खेत । कर्णाली प्रदेशसभाको सामाजिक विकास समिति र पत्रकारहरुबिच भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार वीरेन्द्रनगरस्थित कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिको हलमा संसदीय समितिको खुलापन अन्तरगत सामाजिक विकास समिति र पत्रकारहरुबिच भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

संसदीय समितिले गरेका कामकारवाहीहरु आमरुपमा नागरिकसमक्ष पुग्नुपर्छ भनेर कार्यक्रमको आयोजना गरिएको सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले बताउनुभयो । उहाँले बिगतमा सामाजिक विकास समितिले विभिन्न नीति निर्माणमा नागरिक तथा सरोकारवालाको सहभागीतालाई प्राथामिकता दिँदै आएकोमा नागरिकहरुका सवालहरु प्रत्यक्ष बुझी संसदीय समितिले प्रदेश सरकारसमक्ष निगरानी र निर्देशन समेत गरिरहेको पनि बताउनुभयो । खुला संसदको पुर्ण अभ्यासका लागि समितिले नागरिक तथा सरोकारवालाहरुका सुझाब संकलन गर्दै आएको र सोहीक्रममा उक्त कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो ।

समितिले आफ्नो क्षेत्राधिकार भित्र पर्ने सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट भए गरेका कामकारवाहीको संसदीय अनुगमन/निगरानी गर्ने र ती मन्त्रालयहरूबाट प्रदेश सभामा आएका विधेयकहरूमा छलफल गर्ने कार्य गर्दै आइरहेको छ ।

संसदीय समितिहरुको गठनपश्चात् पत्रकारहरुसँग समितिले दोस्रोपटक यस्तो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा समितिले हालसम्म गरेका कामकारवाही, सरकारलाई दिएका निर्देशन, निर्देशन कार्यान्वयनका विषय तथा भावी योजनाका बारेमा पत्रकारहरुसमक्ष छलफल गर्ने र पत्रकारहरुबाट पनि सुझावहरु प्राप्त गर्ने उद्देश्य राखेको सामाजिक विकास समितिका सदस्य पद्मा खड्काले बताउनुभयो।

कार्यक्रममा सामाजिक विकास समितिका सचिव राजेन्द्र पौडेलले समितिले विगत एक वर्षमा गरेका निर्णय एवं निर्देशनका साथै हालसम्म गरेका महत्वपुर्ण कार्यसम्पादनको सारांश प्रस्तुत गर्नुभएको थियो । त्यसपश्चात सहभागीहरुले आफ्ना धारणा तथा सामाजिक विकास समितिलाई सुझाब प्रदान गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले सामाजिक विकास समितिले नागरिकहरुलाई सुचनाको हकको पुर्ण प्रत्याभुती गराएकोमा धन्यवाद व्यक्त गरे । उनिहरुले सामाजिक विकास समितिले गरेका कार्यसम्पादनबाट प्रदेशसभाका अन्य संसदीय समितिहरुले सिक्न जरुरी रहेको उल्लेख गरे । सहभागीहरुले समितिलाई प्रदेशसभाले गर्ने नीतिनिर्माणमा अनिवार्य सरोकारवाला नागरिकहरुको सहभागीता गराइ राय लिनसमेत सुझाब दिएका छन् ।

सामाजिक विकास समितिले मिडियाकर्मी, पत्रकार तथा लेखकहरुलाई वितेका ६ महिनाभित्र लेखेका सामाजिक विकास समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयषहरु सीमान्तकृत, लोपोन्मुख, राउटे, राजी, लैङ्गिक तथा अल्पसंख्यक, महिला, बालबालिका, कोभिड-१९ ले महिला तथा बालबालिकामा पारेको प्रभावका सम्वन्धमा सामाचार, लेख, आलेख समितिलाई उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

कार्यक्रममा सामाजिक विकास समितिका अध्यक्ष देवी वली, सदस्यहरु पद्मा खड्का, रातो कामी र कृष्णा शाहको सहभागिता रहेको थियो भने करिब २० जना पत्रकारहरुको सहभागीता रहेको थियो ।