२२ मंसिर २०७८, बुधबार

कर्णालीमा कोरोना जोमिख भन्दै मनपरी भाडा असुल्दै यातायात व्यवसायी


कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीहरुले मनपरी भाडा असुल्न थालेका छन् । कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीहरुले यसरी मनपरी भाडा असुल्न थालेका हुन् ।

कालिकोटबाट सुर्खेतको भाडादर आठ सय रुपैयाँ भए पनि सुर्खेत आउनका लागि एकजनाको १५ सयदेखि तीन हजार रुपैयाँसम्म असुल्ने गरेका छन् ।

कालिकोट सुर्खेत आउन कालिकोट नरहरीनाथ गाउँपालिका–९ का अनिल रावलले गाडी नम्वर १०५० ले दुईजनाको भाडा तीन हजार रुपैयाँ असुल गरेको बताए । ‘कोरोनाका बेला २८ प्रतिशत भाडा बृद्धि गरेको जोड्दा पनि जिपले एक हजार २५ रुपिया लिनु पर्ने हो,’ पुरानो भाडा आठ सय थियो भने यसमा २८ प्रतिशत बृद्धि गर्दा एक हजार २४ रुपैयाँ हुनेमा यातायात ब्यवसायीहरुले मन परी भाडा लिने गरेका छन्,’ रावलले भने ।

तर, ट्राफिक कार्यालय कालिकोटका दलबहादुर बसेलले आफूकहाँ कसैको गुनासो नआएको र छड्के जाँदा पनि यात्रुले भाडाबारे कुनै गुनासो नगरेको दाबी गरे ।

कर्णाली करिडोरको ३० किलोमिटरको भाड आठ सय

कर्णाली करिडोरअन्तर्गत कालिकोटको जितेगडादेखि घाटपारी चौरसम्म जम्मा ३० किलोमिटर सडकखण्डमा लकडाउनअघिसम्म तीन सय रुपैयाँ भाडा दर थियो । तर, यातायात व्यवसायीले गत वर्षको लकडाउनमा पाँच सय र यस वर्ष आठ सय रुपैयाँ सवारी भाडा बढाएका छन् । कोरोनाको जोखिम भएको भन्दै उनीहरुले मनोमानी भाडा बढाएका हुन् ।

सेनाले निर्माण गरेर गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरिएको कर्णाली करिडोरमा यात्रुवाहक गाडीले मात्र नभएर मालवाहक मिनी टाटा र ट्याक्टरले पनि मनपरी ढुवानी भाडा असुल्ने गरेको पचालझरना व्यापारी रामबहादुर बोगटीले बताए । ‘३० किलोमिटर सडकखण्डमा यात्रा गर्दा आठ सय रुपैयाँ भाडा तिर्नुपर्छ,’ उनले भने, ‘यसको नियमन गर्ने कुनै निकाय नै भएन ।’

भाडामा मनपरी भएको भन्नेबारे गुनासो सुनिए पनि आधिकारिक जानकारी नआएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘अनौपचारिक रुपमा भाडा बढी लिएको गुनासो आउने गरेको छ,’ उनले भने, ‘औपचारिक जानकारी आए कारवाही गर्छौं ।’

मुगुमा सात किलोमिटरको भाडा पाँच सय

मुगुमा पनि यातायात व्यवसायीहरुले चर्को भाडा असुल्ने गरेको गुनासो स्थानीयले गर्ने गरेका छन् । गमगढीदेखि बालै हुँदै पिनासम्मको सात किलोमिटर सडकमा चल्ने जिपले पाँच सय रुपैयाँ भाडा लिने गरेको सोरु गाउँपालिका–६ का रामबहादुर शाहीले जानकारी दिए ।
त्यस्तै, गमगढीदेखि रारा विमानस्थलसम्मको दूरी नौ किलोमिटरमा यात्रुबाट पाँच सय रुपैयाँ भाडा असुलिरहेका स्थानीयको भनाइ छ । त्यस्तै, गमगढीदेखि तारापानीसम्मको २१ किलोमिटर सडकमा पनि प्रतिव्यक्ति पाँच सय रुपैयाँ भाडा लिने गरिएको छ । न्युजकारखाना