२२ मंसिर २०७८, बुधबार

इन्टेग्रिटी आईकन नेपाल-२०२१ सार्वजनिक


महामारीले निम्त्याएको जटिलताका बावजुद, हरेक वर्ष जस्तै, यस वर्ष पनि अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रिटी आईकन २०२१ सार्वजनिक गरेको छ।

इन्टेग्रिटी आईकन, सार्वजनिक सेवामा रहेर जुनसुकै परिस्थितिमा पनि निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थालिएको खुला अभियान हो । ८ वर्ष अगाडी नेपालबाट सुरु भएको अभियान हाल विश्वका अन्य १४ मुलुकमा पुगिसकेको छ।

यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका ३३५ मनोनयनबाट निर्णयक समितिले छनौट गरेका थिए । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशि राज दाहाल, पूर्र्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल रहेका थिए।

यी आईकन र उनीहरूले गरेका कामलाई सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्रामको माध्यमबाट आउँदो एक हप्ता भरी प्रस्तुत गरिने बताइएको छ। उनीहरुलाई कार्तिक १२ गते भर्चुअल माध्यमबाट सम्मान समारोह आयोजना हुनेछ।

इन्टेग्रिटी आइकन २०२१ का लागि छनौट भएका व्यक्तित्वको संक्षिप्त विवरण यस प्रकार रहेको छः

१. शिला शर्मा, नर्सिङ अधिकृत (कोभिड फोकल पर्सन), भेरी अस्पताल, नेपालगञ्ज, बाँके:

कोरोना महामारी शुरु हुँदा नेपाल सरकारले आफ्नै निर्देशिका बनाईसकेको थिएन । शर्माले विश्व स्वास्थ्य संगठनको निर्देशिका हेर्दै नमुना निर्देशिका तयार गरेर लागु गरिन् । नर्सहरूलाई तालिमको व्यवस्था गरिन्। भेरी अस्पतालमा एउटा हल मात्र कोभिडका बिरामीको लागि छुट्याईएको थियो। उनले ४ ओटा हल र करिडोर पनि प्रयोगमा आउने गरी विस्तार गरेर कोभिड वार्ड बनाईन् । त्यसपछि कोभिडका बिरामी बेड नपाएर फर्केर जानु परेन । उपलब्ध अक्सिजनको समुचित उपयोग होस भनेर अफ ड्युटी नर्सहरू परिचालन गरेर अक्सिजन नपुगेको, चुहावट भएको र बढि प्रयोग भईरहेको बारेमा निगरानी गरिन् ।

२. मनमाया भट्टराई पंगेनी, प्रमुख जिल्ला अधिकारी, नवलपुर:

उनी जुनसुकै विम्मेवारीमा हुँदा पनि महिलाका मुद्दा प्राथमिकतामा परे । स्वास्थ्य सहायक हुँदा स्थानीय भाषा सिकेर महिलालाई स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य केन्द्र सम्म आउने बनाईन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महाशाखा प्रमुख हुँदा “मर्यादित महिनावारी” कार्यक्रमलाई आक्रामकरुपमा कार्यान्वयनमा ल्याईन्। अहिले १५०० जना विद्यार्थीलाई आफैले हिंसा, अपराधका बारेमा सचेतना फैलाउन र खुलेर आवाज उठाउन तालिम दिएर परिचालन गरेकि छिन् । त्योसँगै उनले “विकासमा सुरक्षा” नीति प्राथमिकता दिएपछि अहिले जिल्लामा विकास निर्माणका कार्यहरूले तिव्रता पाएको छ।

३. चन्द्रकान्त चौधरी, कृषि अधिकृत, मकवानपुरगढी गाउँपालिका, मकवानपुर:

चौधरीले व्यवसायिक खेती, बजार र प्रविधीसँग किशानलाई अभ्यस्त बनाएर एक उदाहरणीय कृषि प्राविधिकको रुपमा आफूलाई प्रस्तुत गरेका छन्। उनले तालिम दिएका किशानले उत्पादन राम्रो गरे। बजारिकरणको लागि कृषि सहकारीलाई कार्यान्वयनमा ल्याए। किशानलाई कारोबार गर्न सजिलो होस भन्नका लागि किशान क्रेडिट कार्ड वितरण गरे, जसबाट किशानले २ लाख सम्मको कारोबार सजिलै गर्न सक्दछन्। फलस्वरुप ८ कट्ठामा खेती गर्ने किशान अहिले ८ बिगाहामा व्यवसायिक खेती गरिरहेका छन्।

४. डा. सुमित्रा गौतम, मेडिकल सुपेरिटेन्डेण्ट, भक्तपुर अस्पताल, भक्तपुर:

केही वर्ष अगाडीसम्म धरासयी भक्तपुर अस्पताल डा. गौतमले नेतृत्व सम्हालेपछि प्रदेशकै उत्कृष्ट अस्पताल बनेको छ। सामान्य ड्रेसिङ सम्मको सुविधा मात्र उपलब्ध हुने सिन्धुली अस्पताल उनले नेतृत्व लिएपछि देशकै नमुना अस्पताल बन्यो । रिफरल अस्पतालको रुपमा चिनिएको सिरहा अस्पतालको रुप फेरियो। जसोतसो २०–३० जना सेवाग्राही आउने खजुरा स्वास्थ्य केन्द्रमा उनी गएपछि दैनिक ३०० जती बिरामी आउनथाले । त्यती मात्र नभएर अहिले पनि उनलाई पच्छ्याउँदै टाढाटाढाका जिल्लाबाट बिरामीहरू भक्तपुर अस्पताल आउने गरेका छन् ।

५. डा. लोकबहादुर लोप्चन, उप–सचिव, भाषा आयोग, काठमाडौंः

मातृभाषा संरक्षणमा लागिपरेका डा. लोप्चन मातृभाषिलाई खोज्न मात्र पनि देशका कुनाकुना पुगेका छन् । आफ्नै व्यक्तिगत पहलमा भाषिक पहिचान सम्बन्धी नियमित प्रकाशनहरू सार्वजनिक गरिरहेका छन्। भाषा आयोगमा आउनुपूर्व उनले जिल्ला शिक्षा अधिकारी भएर पनि काम गरे। ओखलढुंगामा त उनले हरेक विद्यालय, शिक्षक, विद्याथी र विषयका लागि लक्ष्य निर्धारण गरेर कार्यान्वयनमा ल्याए । जसको परिणामा केही विद्यालय प्रदेशमै अब्बल ठहरिए। दोलखामा सट्टा शिक्षक राख्ने शिक्षकलाई शुन्य सहनसिलताका आधारमा कारवाही गरे। पाँचथरमा मिलेमतोमा शिक्षक नियुक्ति गर्ने प्रणालीलाई हटाई परीक्षा समितिद्वारा शिक्षक नियुक्ति हुने प्रणाली स्थापित गरे।