२२ मंसिर २०७८, बुधबार

‘झन्झटिलो सरकारी प्रक्रियाले उद्यमशिलता प्रर्वद्धन भएन’


कर्णाली प्रदेशमा नयाँ उद्यमीहरुले सृजनशील व्यवसायीक विचार सहित पुर्वयोजना बनाई लगानी गर्न उद्यमीहरुले सुझाब दिएका छन्। साथै उनीहरुले झन्झटिलो सरकारी प्रक्रियाले  उद्यमशीलता प्रर्वद्धन नभएको जिकिर गरे। बिहिबार ऋति फाउण्डेशनले विश्वव्यापी उद्दमी सप्ताह २०२१ ( ग्लोबल आन्टरपिर्नर्सिप विक) को अवसरमा भर्चुअल रुपमा सञ्चालन गरेको सवाल उद्यमीको विशेष श्रङ्खलामा बोल्दै कर्णालीका उद्यमीहरुले लगानी गर्नुभन्दा पहिले त्यसको प्रभावकारिता, बजार लगायतको अध्ययन गर्न सुझाब दिएका हुन्।

बहसमा कर्णालीमा नयाँ र फरक खालको उद्यमको योजना ल्याएमा त्यसले सफलता पाउने उद्यमी सन्देश रावतले बताउनुभयो। उद्यम गर्नको लागि पुँजी संकलनमात्रै ठुलो नभएको बताउँदै उहाँले उद्यमशीलता सानो मात्राको पुँजीबाट पनि गर्न सकिने बताउनुभयो।

सुर्खेत उद्योग वाणिज्य संघका सदस्य तथा उद्यमी सिया कार्कीले महिला उद्यमीहरुलाई सरकारले उपलब्ध गराउने कर्जा पाउन निकै लामो प्रक्रियाका साथै जटिलता पनि रहेको बताउनुभयो। उहाँले आफुले उद्योग वाणिज्य संघमा महिला उद्यशिलता विभागमा काम गरेको अनुभव सुनाउँदै सरकारले दिने अनुदान तथा सहुलियत ऋण पाउन लाभग्राहीहरुलाई असहज भएको उल्लेख गर्नुभयो।’महिला उद्यमीहरुले मसँग सरकारले दिने अनुदान् तथा सहुलियत कर्जा पाउन निकै गाह्रो तथा सबै उद्यमीहरुको पहुँच नपुगेको गुनासो गर्ने गरेका छन्’ उहाँले भन्नुभयो, ‘सरकारले महिला उद्यमीहरुका लागि दिने अनुदानको प्रक्रिया सहज बनाउन र सबै उद्यमीको सहज पहुँच बनाउन आवश्यक छ।’

वीरेन्द्रनगरका उद्यमी अविनास थानीले उद्यमीहरुले लगानीको प्रतिफल पाउनका लागि धैर्य गर्नुपर्ने बताउनुभयो। उहाँले समय लिएर बजारको अध्ययन गरेर जोखिम बहन गरेर मेहनतका साथ व्यवसाय गर्न सुझाब दिनुभयो।

कार्यक्रमको सहजीकरण ऋति फाउण्डेशनका श्याम भण्डारीले गरेका थिए। कार्यक्रममा उद्यमशीलतामा प्रेरणादायी यात्रा, चुनौती र ती चुनौतीहरुको समाधान र अबसरहरुका बारेमा बहस गरिएको थियो। बहसमा कर्णालीमा उद्यमशीलताको अबसर, चुनौतीका साथै सरकारले उद्यमीमैत्री बतावरण गर्नका लागि गर्नुपर्ने पुर्वाधार तथा नीतिगत योजनाहरुका विषयमा समेत चर्चा भएको थियो। हरेक वर्ष अँग्रेजी क्यालेन्डरको नोभेम्वर ८ देखि १४ सम्म विश्वव्यापी रुपमा उद्दमशीलता सप्ताह मनाउने गरिन्छ ।

हेर्नुहोस भिडियोः

https://fb.watch/9k6a2odzTC/