१५ माघ २०७९, आईतवार

फुटपाथ व्यवसायको सामाजिक र आर्थिक महत्त्व


वीरेन्द्रनगरमा फुटपाथ व्यवसायः १

बिक्रीको लागि स्थायी रूपमा निर्मित संरचनाविना नै सामानहरू बिक्री गर्ने व्यक्तीलाई फुटपाथ व्यवसायीको रूपमा व्याख्या गर्ने गरिएको छ । फुटपाथ व्यवसायीलाई पनि दुई प्रकारले व्याख्या गर्ने गरिन्छ । पहिलो, जो सधैँैभरी एकै ठाउँमा व्यवसाय गर्छन् । दोस्रो, चलायमान् रूपमा व्यवसाय गर्छन् ।

चलायमान फुटपाथ व्यवसायीहरू टोकरीहरूमा वा ठेलामा वा हातमा वा झोलामा वा टाउकोमा आफ्ना सामानहरू बोकेर बिक्रीका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने गर्दछन् । सम्बन्धित भुगोलमा महŒवपूर्ण सामाजिक–आर्थिक योगदान दिने गरेको भएपनि फुटपाथ व्यवसायीहरू संसारभरका सबैभन्दा कमजोर र असुरक्षित अनौपचारिक कामदारहरूमा पर्ने कुरा विभिन्न अध्ययनहरूले देखाएका छन् ।

फुटपाथ व्यवसायी विश्वभरका सहरी अर्थतन्त्रहरूको अभिन्न अंग हुन्, जसले सार्वजनिक स्थानहरूमा कम खर्चिला वस्तुहरू र सेवाहरूको विस्तृत दायरामा सहज पहुँच प्रदान गर्दछन् । जसले ताजा तरकारीदेखि लिएर तयार खाना, निर्माण सामग्रीदेखि कपडा र शिल्पसम्म, इलेक्ट्रोनिक्स सामग्रीदेखि अटो रिपेयरसम्म सबैथोक बेच्छन् । धेरैजसो फुटपाथ व्यवसायीहरूले आफ्नो घरपरिवारको लागि आम्दानीको मुख्य स्रोत, आफ्नो परिवारलाई रोजिरोटीको माध्यम र आफ्ना छोराछोरीको विद्यालयको शुल्क तिर्ने काम गर्छन् ।

विशेषगरी सहरी इलाकाहरूको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्छन्, ती इलाकाहरूमा औसत आम्दानी गर्ने परिवारहरूलाई आवश्यक वस्तुहरू प्रदान गर्छन् । एकातर्फ उनीहरूले आफूले व्यवसायबाट आम्दानी गर्छन् भने सुपथ मुल्यमा सामानहरू बिक्री गरी सहरका अन्य मानिसहरूको हितमा पनि काम गर्छन् । फुटपाथ व्यवसायबाट आम्दानी गरी उनीहरूले न्यूनतम् व्यक्तिगत र पारिवारिक आवश्यकताहरू परिपूर्ति गर्छन् जसबाट उक्त क्षेत्रको आर्थिकस्तर बढाउनमा मद्दत पुग्छ । औपचारिक अर्थतन्त्रमा रोजगारी पाउन नसकेका कारण धेरै मानिसहरू फुटपाथ व्यवसायमा प्रवेश गर्छन् । यस अर्थमा फुटपाथ व्यवसाय सहरी रोजगारीको महŒवपूर्ण माध्यमको रूपमा रहेको भन्न सकिन्छ ।

बजारमा केही सामानहरू त्यस्ता हुन्छन् जुन सामानहरू ग्राहकहरूलाई फुटपाथमै किन्न सहज हुन्छ । उनीहरू साना–साना खुद्रे सामानहरू आफ्नो यात्राका क्रममा सडक छेउबाटै किन्न चाहन्छन् । ती सामानहरू किन्नको लागि सपिङ मल वा अन्य ठूला पसलहरूमा जान उनीहरूलाई फुर्सद् पनि हुँदैन् ।

फुटपाथ व्यवसाय व्यवस्थापन नेपालका धेरै ठूला सहरहरूमा प्रमुख सहरी समस्याको रूपमा लिने गरिएको छ । ग्रामीण क्षेत्रबाट सहरी केन्द्रहरूमा बसाइँसराइको बढ्दो दरले नेपालमा सहरमा जनघनत्व बढ्दै गएको छ र यी अधिकांश आप्रवासीहरूले प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो जीविका चलाउनको लागि उचित रोजगारी पाउन सक्दैनन् । विकासका पूर्वाधार, रोजगारीलगायतका आधारभूत आवश्यकताको खोजीमा सहर झरेकाहरूका लागि सानो पुँजीमा आयआर्जनको सहज माध्यम फुटपाथ व्यवसाय हुनसक्छ ।

औपचारिक क्षेत्रमा राम्रो तलबको काम पाउनको लागि सीप, ज्ञान र शिक्षा नभएका कारण ग्रामीण क्षेत्रबाट सहर झरेकाहरू प्रायजसो फुटपाथ व्यवसायमा संलग्न हुने गर्छन् । नेपालको बढ्दो जनसंख्या र औपचारिक क्षेत्रमा घट्दो रोजगारीका अवसरहरूले पनि मानिसहरूलाई अनौपचारिक क्षेत्रमा रोजगारी प्राप्त गर्न प्रेरित गरेको छ ।

फुटपाथ व्यवसायलाई अनौपचारिक क्षेत्र अन्तर्गत वर्गीकरण गरिएको छ । यो एक विश्वव्यापी विषय हो जहाँ लाखौं मानिसहरूले सडक, फुटपाथ र अन्य सार्वजनिक स्थानहरूमा सामानहरू बेचेर पूर्ण वा आंशिक रूपमा आफ्नो जीवनयापन गर्छन् । फुटपाथ व्यवसायीहरू स्व–रोजगार भएका व्यक्तिहरू हुन् । पर्याप्त पुँजि, सीप र ज्ञानको अभाव भएका व्यक्तिहरूको लागि फुटपाथ व्यवसाय जीविकोपार्जनको लागि सहज माध्यम हो ।

नेपालजस्ता धेरै विकासोन्मुख र अल्पविकसित देशहरूमा रोजगारदाताहरूको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा संलग्न छन् । अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी सहरहरूको तथ्याङ्कअनुसार फुटपाथ व्यवसायीहरूले कूल सहरी अनौपचारिक रोजगारीको दुईदेखि २४ प्रतिशतसम्म ओगटेका छन् । अध्ययनहरूले देखाएअनुसार फुटपाथ व्यवसायीहरूले प्रहरीबाट सबैभन्दा धेरै यातना खेप्छन् । अध्ययनअनुसार ८६.६ प्रतितश फुटपाथ व्यवसायीहरू आफ्नो आम्दानीको स्रोतको रूपमा फुटपाथ व्यापारमा पूर्णरूपमा निर्भर छन् । फुटपाथका प्रमुख कारणहरू वैकल्पिक रोजगारीकाअवसरहरूको अभाव, घरायसी खाद्य सुरक्षा सुनिश्चित गर्न र अन्य गतिविधिहरूबाट आयलाई पूरक बनाउनु हो । एक अध्ययनले फुटपाथ व्यवसायीको जीवनस्तरमा सुधार ल्याउन फुटपाथ व्यवसायले योगदान पु¥याएको निष्कर्ष निकालेको छ ।

फुटपाथ व्यवसायलाई सहजरूपमा व्यवस्थापन गर्न सकेमा यो व्यवसाय समस्या नभइ रोजगारीको अवसर र आर्थिक स्रोतको रूपमा हुन सक्छ । यसले गरिब जनतालाई काम, रोजगारी र जीविकोपार्जन प्रदान गर्दै आएको हुनाले यो बढ्दो बेरोजगारी दरलाई समाधान गर्ने स्रोत बन्न सक्छ ।

ग्रामीण क्षेत्रहरूमा गरिबीसँगै लाभदायक रोजगारीको अभावले मानिसहरूलाई आफ्नो गाउँ छोडेर सहरमा राम्रो अस्तित्वको खोजीमा धकेलिएको छ । सहर आएकाहरूसँग औपचारिक क्षेत्रमा राम्रो तलब, सुरक्षित रोजगारी खोज्न सक्षम पार्ने सीप वा शिक्षा छैन र उनीहरूले अनौपचारिक क्षेत्रमा कामको लागि बसोबास गर्नुपर्छ ।

विश्व बैंकको पछिल्लो प्रतिवेदनअनुसार नेपाल व्यवसाय गर्ने वातावरणमा ९४औँ स्थानमा पर्छ । नेपालमा व्यवसायको सुरुवात् गर्नेदेखि सञ्चालन गर्नेबेलासम्म विभिन्न कानुनी तथा व्यवहारिक जटिलताहरू छन् । उक्त प्रतिवेदनअनुसार व्यवसाय सुरुवात गर्न सहजताको हिसावले भने नेपाल एक सय ३५औँ स्थानमा छ । विश्व बैंकको उक्त प्रतिवेदनअनुसार नेपालमा व्यवसाय सुरुवात गर्न औषतमा २२.५ दिन खर्चिनुपर्छ । नेपालमा व्यवसाय स्थापना गर्न लाग्ने आठ चरणहरू पार गर्नुपर्छ । फुटपाथ व्यवसायमा प्रवेश गर्नका लागि त्यति ठूलो लगानी पनि आवश्यक पर्दैन र त्यसका लागि प्रवेशको लागि अवरोध पनि नहुनाले नागरिकहरू यसतर्फ आकर्षित हुन्छन् । गाउँगाउँमा स्थानीय सरकार निर्माण भएसँगै गाउँमा पनि बजार र सहरीकरण बढ्ने क्रम आएको छ । स्थानीयस्तरमा व्यापारका लागि बजारको विकास हुन थालेको छ । यस अर्थमा पनि फुटपाथ व्यवस्थापनका लागि नेपालका सहरदेखि गाउँसम्मका स्थानीय तहहरूले नीतिनिर्माण गर्नुपर्ने आवश्यकता महसुस भएको छ ।

फुटपाथ व्यवसाय अर्थतन्त्रमैत्री उद्यम हो किनभने यो आर्थिक मन्दीका साथै वित्तीय उछालको अवस्थामा झनै फस्टाउँछ । सहरी क्षेत्रमा अर्थतन्त्र बढ्दै जाँदा फुटपाथ व्यवसायीरूको माग बढ्न जान्छ र धेरै मानिसहरू यो पेसामा आवद्ध हुन सक्छन् । ग्रामीण इलाकाहरूबाट आर्थिक अवसरको खोजीमा सहर झरेकाहरूलाई सानो पुँजी लगानीमा उपयुक्त आर्थिक अवसरको सिर्जना फुटपाथले गर्नसक्छ ।

नेपालको सन्दर्भमा फुटपाथलाई नीतिगत व्यवस्था गरी कुनैपनि सहरमा व्यवस्थापन गरेको देखिँदैन । यो भन्दै गर्दा फुटपाथ व्यवसाय पनि रोकिएको भने छैन । काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू कतिबेला आएर लखेट्ने हुन्, कताबाट आएर सामान जफत गर्ने हुन् फुटपाथ व्यापारीलाई अन्दाजै हुँदैन । स्थानीय निर्वाचनपछि त्यहाँका नवनिर्वाचित मेयरले फुटपाथी व्यवसायीलाई व्यवसायबाट वञ्चित गराउन चालेको कदमको चर्काे आलोचना भएको थियो । ललितपुर महानगरपालिकामा भने नगर प्रहरीले फुटपाथ व्यवसायीहरूलाई व्यवस्थित र सुरक्षित ठाउँमा बस्नका लागि सहजिकरणको काम गर्ने गरेका छन् । नीतिगत व्यवस्थापन गर्न समय लाग्ने भएकोले अल्पकालिन रूपमा यस्तो व्यवस्था उत्तम हो । रोजगारीका लागि काठमाडौं उपत्यका आएका धेरै मानिसले अरु काम नपाएपछि सडकको व्यापारलाई आर्थिक उपार्जनको माध्यम बनाएका छन् । प्रदेश १ को ठूलो सहर विराटनगरमा मात्रै १९ वटा साताव्यापी बजार छन्, जसले युगौंदेखि ग्रामीण व्यापारीको बजारको रूपमा काम गर्दै आएको छ ।

छिमेकी मुलुक भारतमा अनुमानित एक करोड फुटपाथ व्यवसायी रहेका छन् जो कूल सहरी रोजगारीको लगभग ११ प्रतिशत हो । त्यहाँ फुटपाथले अर्थतन्त्रको दैनिक करिब ८० करोड रूपैयाँको कारोबार फुटपाथ व्यवसायबाटै हुन्छ । प्रत्येक फुटपाथ व्यवसायी वा व्यापारीले कर्मचारी, साझेदार वा कामदारको रूपमा औसत तीनजनालाई सहयोग गर्छन् । मेक्सिकोमा कुल सहरी रोजगारीमा चार प्रतिशत महिला र तीन प्रतिशत पुरुष फुटपाथ व्यवसायी छन् ।

घानामा सहरी अनौपचारिक रोजगारीको १४ प्रतिशत फुटपाथ व्यवसायी छन् । त्यहाँका आठ सहरहरूमा फुटपाथ व्यवसायीरूले गैर–कृषि रोजगारीको १३ प्रतिशत देखि २४ प्रतिशतसम्म योगदान गरेका छन् । यी सहरहरूमा महिलाहरूको अनौपचारिक रोजगारीमा फुटपाथ व्यवसायले ठूलो हिस्सा ओगट्छ । पुटपाथ व्यवस्थापनको विषय नेपालका सबै सहरहरूमा महत्त्वपुर्ण छ । नेपालका मुख्य सहरहरूमा विशेष गरी फुटपाथ व्यवसायीहरूको संख्या धेरै भएपनि उचित व्यवस्थापनको अभ्यास भने अहिलेसम्म हुन सकेको छैन ।

फुटपाथ व्यवसायबाट मध्यम तथा न्युन आय भएकाहरूले नै फाइदा लिन्छन् । दुर्भाग्यवश फुटपाथ व्यवसायलाई गैरकानूनी गतिविधि मानिन्छ र फुटपाथ व्यवसायीहरूलाई अपराधीको रूपमा व्यवहार गरिन्छ । स्थानीय सरकार प्रहरीको दुव्र्यव्यवहारबाट फुटपाथ व्यवसायी ग्रसित छन् । दक्षिण एसियामा फुटपाथ व्यवसायसम्बन्धी गरिएको अध्ययनले लगभग सबै एसियाली देशहरूमा फुटपाथ व्यवसायीहरूको आफ्नो व्यवसाय सञ्चालन गर्न कुनै कानुनी हैसियत नभएको र उनीहरूलाई अधिकारीहरूले निरन्तर दुव्र्यवहार गर्ने गरेको देखाउँछ ।

केन्द्रीय तथ्याङ्क विभागले गतवर्ष प्रकाशित गरेको अनौपचारिक क्षेत्रसम्बन्धी विश्लेषणात्मक प्रतिवेदन अनुसार नेपालमा सञ्चालित झन्डै आधा व्यावसायिक प्रतिष्ठानहरू दर्ता नभएका र अनौपचारिक उद्यमका रूपमा गनिएका छन् । देशका ९२३,०२७ व्यवसायिक प्रतिष्ठान मध्ये ३४,१०१ (३.७ प्रतिशत) फुटपाथ व्यवसाय थिए । देशमा ३२ लाख ३३ हजार रोजगारीमा रहेका मध्ये ४५ हजार ३३० जना फुटपाथ व्यवसायमा संलग्न छन् । यो तथ्यांकलाई हेर्दा हजारौँको संख्यामा नागरिकहरू फुटपाथबाट स्वरोजगार भएका छन् ।

(‘सुर्खेतको वीरेन्द्रनगरमा फुटपाथ व्यवसायको अवस्था, नीतिगत बाधा र समाधानका उपायहरू’ बारे ऋति फाउण्डेशनले गरेको अध्ययनको आधारमा यो आलेख तयार गरिएको हो । यस श्रृंखलामा चारवटा आलेख प्रकाशित हुनेछन् ।)