१५ माघ २०७९, आईतवार

फुटपाथ व्यवसाय व्यवस्थापनका अन्तर्राष्ट्रिय अभ्यासहरू


वीरेन्द्रनगरमा फुटपाथ व्यवसायः २

फुटपाथ व्यवसायलाई उचित रूपमा व्यवस्थापन नेपाल मात्र नभइ विश्वभरीको सरोकारको विषय हो । कतिपय स्थानमा नीतिगत समाधानको उपायद्वारा फुटपाथ व्यवसायको उचित व्यवस्थापन पनि गरिएको छ । यस आलेखमा विश्वका विभिन्न देशहरूमा फुटपाथ व्यवसायको व्यवस्थापनका लागि लागू गरिएका महŒवपूर्ण नीतिहरूबारे उल्लेख गरिएको छ, जुन नीतिहरू वीरेन्द्रनगर र नेपालभर नै फुटपाथ व्यवसायको व्यवस्थापनका लागि लागू गर्न सकिने खालका छन् ।

भारत

छिमेकी देश भारतमा सन् २००९ मा सहरी फुटपाथ व्यवस्थापनसम्बन्धी पहिलो राष्ट्रिय नीति बन्यो । उक्त नीतिको लक्ष्य सहरी क्षेत्रमा अव्यवस्थित फुटपाथ व्यवसायीको कारणले हुने अव्यवस्थित भिड र फोहोर नियन्त्रण गर्ने साथै फुटपाथ बिक्रेताको व्यवस्थापन गरी उनीहरूलाई व्यवसाय गर्न सहज वातावरण सिर्जना गर्ने थियो । सन् २०१४ मा भारतले सोही नीतिअनुरूप फुटपाथ व्यवसायको सुरक्षा र नियमनका लागि ‘टाउन भेन्डिङ्ग कमिटि (टीभीसी)’ स्थापना गर्ने योजना लियो । उक्त समितिमा त्यहाँको स्थानीय तहको निर्वाचित प्रमुख, कार्यकारी अधिकृत, फुटपाथ व्यवसायी, स्थानीय कल्याण समितिका प्रतिनिधि, विभिन्न सामुदायिक समितिका प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको थियो । समितिका जम्मा सदस्यमध्ये कम्तीमा ४० प्रतिशत फुटपाथ व्यवसायीको संगठनका पदाधिकारी र कम्तीमा २० प्रतिशत स्थानीय कल्याण समितिका पदाधिकारीको सहभागिता अनिवार्य गरिएको थियो । टाउन भेन्डिङ्ग कमिटि (टीभीसी) ले फुटपाथ व्यवसाय गर्ने क्षेत्र निरिक्षण गरी तोक्ने, व्यवसायीको फर्म दर्ता गर्ने, नागरिक तथा पैदलयात्रीको सहजता अनुगमन गर्ने र फुटपाथ व्यवसायीहरूबाट राजस्व संकलनको काम गर्ने व्यवस्था गरिएको थियो ।

सन् २०१४ मा ‘भारतमा भारतीय फुटपाथ व्यवसायीहरू (जीविकाको संरक्षण र सडक बिक्रीको नियमन) ऐन, २०१४’ पनि बनेको छ । प्रत्येक सहरमा टाउन भेन्डिङ समितिहरू (टीभीसी) गठन गर्न अनिवार्य गरी कमिटिले स्थानीय फुटपाथ व्यवसायीका क्षेत्रहरू निर्धारण र शुल्क तथा आवश्यक कागजात वा लाइसेन्स निर्धारण गर्नुपर्ने दायित्व सिर्जना गरिदिएको छ । टीभीसीले फुटपाथ व्यवसायीहरूलाई लाइसेन्स वितरण गर्न सक्छ र प्रमाण पत्रमा उल्लेखित सर्तहरू उल्लंघन गरेको खण्डमा तिनीहरूलाई निलम्बन गर्ने अधिकार छ । यद्यपि, अधिकांश भारतीय सहरहरूमा यो ऐन लागू भइसकेको छैन र सबैतिर टीभीसी स्थापना भएका छैनन् ।

थाइल्याड

थाइल्यान्डमा सबै फुटपाथ विक्रेताहरू ‘बीएमए (बैंकक मेट्रोपोलियन एडमिनिस्ट्रेसन)’ मा अनिवार्य दर्ता हुनुपर्छ । सबै फुटपाथ बिक्रेताहरूले अनिवार्य लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको छ । लाइसेन्स लिँदा एक जना मालिक र एक सहयोगी गरि दुई जनाको नाममा मात्र लाइसेन्स लिन पाइने व्यवस्था छ । व्यवसायीले फुटपाथको कारण हुने फोहोर व्यवस्थापन र सार्वजनिक स्थल संरक्षणको लागि प्रति महिना स्थानीय मुद्रा तीन सय प्रतिवर्गमिटरको दरले तिर्नुपर्छ । यो नीतिगत व्यवस्थाको कारणले फुटपाथ व्यवसायीहरूले सरकारलाई कर पनि तिरिरहेका छन् भने सहज रूपमा फुटपाथमा व्यवसाय गर्न सकिरहेका छन् ।

बैंककलाई कुनै समय समावेशी फुटपाथ व्यवसाय व्यवस्थापनका लागि नमुना सहरको रूपमा हेरिन्थ्यो जसले रोजगारी, व्यवसाय र पर्यटनका लागि (विन विन–प्रक्रियामा संलग्न हुने सवैले जित्ने अवस्था) अवस्था सिर्जना गरेको थियो । बैंकक छिमेकी र अन्य थाई सहरहरूमा, फुटपाथ व्यवसायलाई सहरी योजनामा धेरै प्रभावकारी रूपमा एकीकृत गरिएको छ । स्थानीय फुटपाथ बिक्रेताहरू र जिल्ला अधिकारीहरूले व्यवसायको समय, फोहोर व्यवस्थापन, सरसफाइ र शुल्क संकलनसम्बन्धी नियमहरू कडाइका साथ लागू गर्न मिलेर काम गर्छन् । फुटपाथ व्यवसायले त्यहाँको लागि राजस्वको स्रोत प्रदान गर्दछ । जसमा व्यवसाय गर्नका लागि खाद्य बिक्रीको लागि प्रति महिना २००० (स्थानीय मुद्रा) र गैर–खाद्य गतिविधिहरूको लागि १००० (स्थानीय मुद्रा) तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

सिंगापुर

सिंगापुरको सार्वजनिक वातावरणिय स्वास्थ्य नीति अनुसार फुटपाथ विक्रेताहरू दर्ता भइ कानुनी रूपमा सञ्चालित हुनुपर्दछ । बिक्रेताहरूको लाइसेन्स राष्ट्रिय वातावरण एजेन्सि (एनइए) मा बनाइन्छ । एनइए फुटपाथ क्षेत्र व्यवस्थापन गर्न र फुटपाथ बिक्रेताहरूलाई लाइसेन्स दिन तथा नियमन गर्न उत्तरदायी छ । फुटपाथमा व्यवसाय गर्न व्यवसायीले एनइएमा सहरी पुनर्विकासबाट अनुमति लिएर स्थान पक्का गर्नुपर्छ । खाद्यसम्बन्धी स्टल वातावरणीय स्वास्थ्य अनुकूल हुनुपर्छ । नयाँ व्यवसाय दर्ता गर्न कम्तीमा एक जना पहिले दर्ता भएको व्यवसायी साक्षि बस्नुपर्छ । सेन्ट्रल प्रोभिडेन्ड फन्ड (सिपिएफ) मा व्यवसायीको कुनै दायित्व हुनुहुँदैन । सिपिएफ सिंगापुरका कामदार तथा स्थायीवासीले अनिवार्य वचत गर्नुपर्ने कोष हो ।

इन्डोनेसिया

बाङडुङ सहर इन्डोनेसियाको पश्चिम जाभा प्रदेशको राजधानी हो । बाङडुङ सहरको क्षेत्रफल १६७.२९६५ वर्ग किलोमिटर रहेको छ । बाङडुङ सहरको अर्थतन्त्र पर्यटन व्यवसाय, उद्योग, उत्पादनमुलक उद्योग, शैक्षिक संस्था, फार्मेसी र खाद्य उत्पादनमा निर्भर रहेको छ । पछिल्लो तथ्याङ्कअनुसार उक्त सहरको जनसंख्या करिब २४ लाख रहेको छ । सहरको जनघनत्व करिव दश हजार प्रतिवर्ग किलोमिटर भन्दा बढी रहेको छ । इन्डोनेसियाको बाङडुङ सहरमा फुटपाथ बिक्रेताहरूको व्यवस्थापनका लागि बनेको नीतिमा मेयरको मातहतमा रहने गरी सन् २०११ मा एउटा विशेष कार्यदल बन्यो । फुटपाथको उचित व्यवस्थापन नभएमा उक्त सहरको सुन्दरतामै असर गर्ने हुनाले फुटपाथ व्यवसायीलाई व्यवसायबाट नहटाई वैधानिक रूपमा व्यवस्थित तरिकाले व्यापार गर्ने वातावरण मिलाउने जिम्मा उक्त कार्यदलको थियो । उक्त कार्यदलको नाम स्थानीय भाषामा ‘साटागस’ राखिएको थियो ।

बाङडुङ सहर फुटपाथ व्यवस्थापनको लागि बनेको उक्त कार्यदलले सबैभन्दा पहिले रेड जोन, एल्लो जोन र ग्रिन जोनगरि तीन क्षेत्रमा फुटपाथको वर्गिकरण ग¥यो । रेड जोन अन्तर्गत राखिएको त्यस्तो ट्राफिक सुरक्षाको दृष्टिकोणले संवेदनशील सडकपेटी जहाँ व्यवसाय गर्न पुरै निषेध गरिएको छ । एल्लो जोनमा समय र स्थानका आधारमा राख्न र हटाउन मिल्ने खालका व्यवसाय गर्न दिने भनेर निर्धारण गरिएको छ । ग्रिन जोनमा फुटपाथमा व्यवसाय गर्नका लागि अनुमति दिइएको छ । बाङडुङ सहरमा फुटपाथ व्यवसायको विशेषताको आधारमा वर्गिकरण गरिएको थियो । हिँडाउन मिल्ने (अस्थायी व्यापार स्थान भएको, भाग छुटाएर सार्न मिल्ने), सजिलो वस्तु, विलासिताका वस्तु, खानेकुरा, व्यक्तिगत सेवा आदि विशेषताका आधारमा वर्गिकरण गरिएको थियो । फरक–फरक प्रकारका फुटपाथ व्यवसायहरूलाई फरक–फरक स्थानमा राखिएको छ । ग्राहकहरूले आफूले चाहेको वस्तु खरिद गर्नको लागि स्थान अनुसार जान सक्छन् । स्थानीय तहको मेयरको मातहतमा रहने गरी गठन गरिएको उक्त कार्यदलले फुटपाथ व्यवस्थापन, नियन्त्रण, नियमन, प्रवद्र्धन र सुपरीवेक्षण गर्ने सम्पूर्ण जिम्मा पाएको थियो । ग्रिन जोनमा फुटपाथ व्यवसाय गर्ने सबैलाई अनिवार्य परिचय पत्रको व्यवस्था गरिएको छ । उक्त क्षेत्रमा फुटपाथ व्यवसाय गर्नको लागि पाँच वर्ष पहिलेदेखि बाङडुङ सहरको बासिन्दा रहेको इन्डोनेसियाली नागरिक हुनुपर्ने नियम तोकिएको थियो । रेड जोनबाट जुनसुकै समयमा र एल्लो जोन बाट तोकिएको समय बाहेक फुटपाथ व्यवसायबाट सामान किनेमा उपभोक्तालाई समेत कारबाही गरिन्छ ।
सिंगापुर
सिंगापुर सहरभरि हकर केन्द्रहरूमार्फत फुटपाथ व्यवस्थापन रणनीति लागू गरिएको छ । एक राष्ट्रिय कार्यक्रमले बिक्रेताहरूलाई केन्द्रहरूमा दर्ता गर्न र स्थानान्तरण गर्न मद्दत गर्ने गरी सन् १९७१ बाट ती केन्द्रको निर्माण गरिएको थियो । ती केन्द्रहरूले फुटपाथ व्यवसायीहरूका लागि पानी, बिजुली र फोहोर व्यवस्थापनजस्ता सेवाहरूसहित सस्तो मूल्यमा स्थिर, सुरक्षित स्थान (व्यापार गर्ने ठाउँ) प्रदान गर्छन् । कतिपय अवस्थामा निर्माण व्यवसायीले नयाँ भवनहरू बनाउँदा फुटपाथ व्यवसायीका लागि हकर सेन्टरहरूको लागि ठाउँ छुट्याउन आवश्यक व्यवस्थासमेत गरिएको छ । यद्यपि, यो विधि आज बैंककमा प्रभावकारी हुन सकेको छैन, सिंगापुरमा भने प्रभावकारी भइरहेको छ ।

घाना

घानामा स्थानीय सरकार र त्यहाँको ग्रामीण विकास मन्त्रालयले सहरी नीति प्राथमिकताहरूको रूपरेखा बनाउनका लागि राष्ट्रिय सहरी नीति ढाँचा –२०१२ अपनायो । सहरी आर्थिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्य अन्तर्गत मन्त्रालयले अनौपचारिक उद्यमहरूप्रतिको आधिकारिक दृष्टिकोणलाई परिवर्तन गर्ने प्रतिबद्धता जनाएको छ । यसले सहरी योजनाले अनौपचारिक क्षेत्रका आवश्यकताहरूलाई सम्बोधन गर्ने र उनीहरूलाई प्रतिस्पर्धी स्थानहरूमा पानी, शौचालय र भण्डारणजस्ता सुविधाहरू प्रदान गर्ने सेवायुक्त स्थानहरू उपलब्ध गराउने कुरा पनि सुनिश्चित गर्दछ । घानामा फुटपाथ व्यवसाय नियमन गर्ने व्यापक कानुन भनेको स्थानीय सरकार ऐन १९९३ को दफा ४६२ हो, जसले स्थानीय सभाहरू (स्थानीय अधिकारीहरू) लाई ऐनको सर्तमा आफ्नो जनादेश पूरा गर्न उप–कानुनहरू पारित गर्न अधिकार दिन्छ । यसमा तिनीहरूको अधिकार क्षेत्रभित्र केही गतिविधिहरूलाई अनुमति दिने वा निषेध गर्ने उप–कानुनहरू समावेश छन् । अक्रा मेट्रोपोलिटन एसेम्बली, सार्वजनिक बजार उपनियम र एएमए (कन्ट्रोल अफ हकर्स) बाइ ल, २०१७ ले फुटपाथ व्यवसायलाई नियमन गर्दछ । उप–कानुनहरूले अघोषित सार्वजनिक स्थानहरूमा फुटपाथ व्यवसायलाई निषेध गर्दछ र एएमएलाई विशेष सडकहरूमा फुटपाथ व्यवसाय गर्न अनुमति दिइएको सूचना प्रकाशित गर्न अधिकार दिन्छ ।

नेपालकै परिवेशका विभिन्न मुलुकहरूले फुटपाथ व्यवसायको व्यवस्थापनका लागि विभिन्न नीतिगत व्यवस्थाहरू गरेका छन् । छिमेकी मुलुक भारत तथा इन्डोनेसियाको बाङडुङ सहरमा लागू गरिएका फुटपाथ व्यवसायको व्यवस्थापनसम्बन्धी नीतिहरू वीरेन्द्रनगरको फुटपाथ व्यवसायको व्यवस्थापनका लागि लागु गर्न सकिन्छ । यसर्थ वीरेन्द्रनगर नगरपालिकाले फुटपाथ व्यवसायको सामाजिक र आर्थिक महत्त्व बुझी यसको व्यवस्थापनका लागि उपयुक्त उपायहरू खोजी नीतिगत समाधान निकाल्न जरुरी छ ।

(‘सुर्खेतको वीरेन्द्रनगरमा फुटपाथ व्यवसायको अवस्था, नीतिगत बाधा र समाधानका उपायहरू’ बारे ऋति फाउण्डेशनले गरेको अध्ययनको आधारमा यो आलेख तयार गरिएको हो । यस श्रृंखलामा चारवटा आलेख प्रकाशित हुनेछन् ।)