१९ माघ २०७९, बिहीबार

वीरेन्द्रनगरमा फुटपाथ व्यवसायको वास्तविकता


वीरेन्द्रनगरनगरमा फुटपाथ व्यवसायः ३

कर्णाली प्रदेशमा उपभोग हुने अधिकांश सामग्री वीरेन्द्रनगरबाट जाने हुँदा वीरेन्द्रनगर पश्चिम नेपालकै प्रमुख व्यापारिक एवम् शैक्षिक केन्द्रको रूपमा रहेको छ । वीरेन्द्रनगर नगरपालिकामा क्रमशः बस्तीहरूको विकास भइरहेको छ । नगरपालिकाको केन्द्रतिर बाटो, बजार, मझौला तथा स–साना घरेलु उद्योगहरू रहेका छन् । नगरपालिकाको अर्थतन्त्र मुख्यतयाः व्यापार, व्यवसाय, नोकरी, कृषि, वन, पशुपन्छीपालन, थोक, खुद्रा बजार, होटल, रेस्टुरेण्ट, पर्यटन तथा सेवाजस्ता क्षेत्रमा देखिन्छ ।

नगरपालिकाको वैकल्पिक आर्थिक आधार वैदेशिक रोजगारसमेत रहेको देखिन्छ । नगरपालिकाले २०७५ मा प्रकाशित गरेको पाश्र्वचित्रमा उल्लेख भएअनुसार यहाँका ४५.५०% ले ऋण लिने गरेका छन् । जसमा ४०.३३% परिवारले उधारो चलाउने गरेको र बाँकीले सञ्चित वा स्थिर सम्पत्ति बिक्री गर्ने गरेका छन् । नगरपालिकामा ऋण लिनेहरूको प्रवृतिलाई हेर्दा सबैभन्दा बढी भवन निर्माण÷जमिनको लागि ऋण लिने परिवारको संख्या ४१.६०% रहेका छन् । त्यसैगरी दोस्रोमा परिवारको उपयोगको लागि १९.२९%, तेस्रोमा व्यापार व्यवसाय गर्नको लागि १८.७८%, चौथौंमा औषधी उपचारको लागि १२.४७% रहेका छन् । नगरपालिकामा सञ्चालनमा रहेका व्यापार, व्यवसायिक फर्म तथा कम्पनी सञ्चालकको लिङ्गका आधारमा जनसंख्याको विश्लेषण गर्दा पुरुषको तुलनामा महिलाको स्वामित्वमा रहेका फर्महरूको संख्या आधाभन्दा पनि कम रहेको छ । तथ्याङ्कअनुसार नगरपालिकाभर सञ्चालनमा रहेका फर्महरूमध्ये ६२.६% फर्ममा पुरुषको स्वामित्व र ३७.४% फर्ममा महिलाको स्वामित्व रहेको देखिन्छ ।

वीरेन्द्रनगर नगरपालिकाको २०७६ सालको तथ्यांक अनुसार नगरपालिकाभित्र फुटपाथ व्यवसायीहरूको संख्या सात सय रहेको थियो । त्यो समयमा पनि नगरपालिकामा सबै फुटपाथ व्यवसायीहरूको तथ्यांक समेटिएको थिएन । तीन वर्षको अवधिमा हाल वीरेन्द्रनगर नगरपालिकाको तथ्यांकअनुसार नगरपालिकाभर दुई सय २० जना फुटपाथ व्यवसायी रहेका छन् । तीन वर्षको अवधिमा नगरपालिकाको तथ्यांकमै करिब पाँच सय फुटपाथ व्यवसायी घटेको देखिन्छ । छोटो अवधिमा सयौँको संख्यामा फुटपाथ व्यवसायबाट पलायन हुनुमा विभिन्न कारणहरू छन् । यसको कारण नगरपालिकाले प्रहरीमार्फत फुटपाथ व्यवसायीहरूलाई हटाउने, सार्वजनिक स्थलहरूमा फुटपाथ व्यवसाय गर्न नदिने तथा व्यवसायलाई शहरको व्यवस्थापनको नाममा गरिने दुरव्यवहार भएको व्यवसायीहरूले जनाएका छन् ।

वीरेन्द्रनगरमा फुटपाथ व्यवसाय गरिरहेकाहरूमध्ये ऋति फाउण्डेशनले गरेको अध्ययनमा समावेश भएका २३% उत्तरदाताले १६ देखि २९ वर्ष उमेर समूहको भएको बताएका छन् । सबैभन्दा धेरै ३० देखि ४४ वर्ष उमेर समूहका ५३% फुटपाथ व्यवसायी रहेको पाइयो । ४५ देखि ६० वर्ष उमेरका २४% उत्तरदाता थिए । उत्तरदाता फुटपाथ व्यवसायीहरूमध्ये महिलाको संख्या अत्यधिक मात्रामा रहेको थियो । महिला ६१% र पुरुष ३९% ले फुटपाथ व्यवसाय गरिरहेका छन् । फुटपाथ व्यवसायबाट धेरै संख्यामा महिलाहरू स्वरोजगार भएका छन् । फुटपाथ व्यवसायबाट महिलाहरूले आम्दानी गर्नुले पारिवारिक रूपमा पनि महिलाहरूको आर्थिक क्रियाकलापमा संलग्न हुने प्रवृति बढाउँछ । यसका साथै आर्थिक क्रियाकलापमा महिलाको संलग्नताले महिला शसक्तिकरणमा समेत सहयोग गर्दछ ।

अधिकांश फुटपाथ व्यवसायीहरू सामान्य लेखपढसम्मको मात्रै शैक्षिक स्तर पूरा गरेको पाइएको छ । उत्तरदाताहरूमध्ये ५९% ले सामान्य लेखपढ गरेको बताएका छन् । एसएलसीसम्म अध्ययन गरेका ३३% उत्तरदाताहरू थिए भने ८% उत्तरदाताहरूले प्रविणता प्रमाणपत्र तह (कक्षा १२) सम्मको अध्ययन गरेको बताएका छन् । यो तथ्यांकलाई हेर्दा सामान्य लेखपढ भएका ५९% व्यवसायीहरू स्वरोजगार भएका छन् । ८% उत्तरदाताहरूले प्रविणता प्रमाण–पत्र तह (कक्षा १२) सम्मको अध्ययन गरेकाहरूले पनि रोजगारीका अन्य अवसरहरू नपाएपछि फुटपाथ व्यवसाय रोजेका छन् ।

फुटपाथ व्यवसायीहरूमध्ये अध्ययनमा समेटिएकाहरूमध्ये सबैभन्दा धेरै उत्तरदाताहरू वीरेन्द्रनगरका स्थायी बासिन्दा थिए । वीरेन्द्रनगरमा स्थायी बसोबास भएका ५१%, सुर्खेतका अन्य स्थानीय तह स्थायी ठेगाना भएका ९% र सुर्खेत बाहेकका कर्णाली प्रदेशभित्रका अन्य जिल्लाका २७% उत्तरदाताहरू थिए । कर्णाली प्रदेश बाहिरका नेपालका विभिन्न भूभाग स्थायी ठेगाना भएका ११% र नेपालबाहिर (भारत) का २% फुटपाथ व्यवसायीहरू थिए । फुटपाथ व्यवसायीहरूमध्ये वीरेन्द्रनगरमा स्थायी बसोबास भएका ५१%, सुर्खेतका अन्य स्थानीय तह स्थायी ठेगाना भएका ९% र सुर्खेतबाहेकका कर्णाली प्रदेशभित्रका अन्य जिल्लाका २७% गरी कर्णाली प्रदेशभित्रका ८७% फुटपाथ व्यवसायी गरिरहेका थिए । यो आँकडा हेर्दा वीरेन्द्रनगरमा फुटपाथ व्यवसाय गरिरहेकाहरू मध्ये आधाभन्दा वढी वीरेन्द्रनगर नगरपालिकाकै वासिन्दा हुन् । तथ्यांकले फुटपाथ व्यवसायले नगरकै बासिन्दाहरूको आयआर्जन र जीविकोपार्जनमा मद्दत गरेको देखिन्छ ।

फुटपाथ व्यवसाय गरिरहेका सबै उत्तरदाताहरू विवाहित रहेका थिए । उनीहरूमध्ये अधिकांशका श्रीमान्÷श्रीमती बेरोजगार रहेको बताए । ६५% ले आफ्ना श्रीमान्÷श्रीमती बेरोजगार रहेको बताएका थिए । २८% उत्तरदाताका श्रीमान्÷श्रीमतीले फुटपाथमा सँगै काम गर्थे । ३% का श्रीमान्÷श्रीमती कृषि गर्थे भने व्यापार व्यवसाय गर्ने र विद्यार्थी श्रीमान÷श्रीमती भएका २÷२ % थिए । यसर्थ परिवारमा कुनैपनि रोजगारी नभएकाहरू अधिकांश फुटपाथ व्यवसायमा संलग्न भएका थिए । यसले उनीहरूको परिवारको आयआर्जनलाई त बढाउँछ नै साथसाथै उनीहरूलाई आर्थिक क्रियाकलापमा संलग्न गराई पारिवारिक खर्चको मुख्य स्रोत उक्त आय बन्छ ।

फुटपाथमा व्यापार गरिरहेका उत्तरदाताहरूमध्ये एक वर्षभन्दा कम समयअघि व्यवसाय सुरु गरेका १२% छन् । २९% ले वर्षदेखि दुई वर्षअघि व्यवसाय सुरु गरेको बताए । ३३% उत्तरदाताहरूले दुईदेखि पाँच वर्षअघि सुरु गरेको बताएका छन् भने पाँच वर्षभन्दा पहिले व्यवसाय सुरु गर्नेहरू २६% छन् । तथ्यांकबाट पाँच वर्षपहिलेदेखि फुटपाथ व्यवसाय गर्दै आएकाहरू जम्मा २६% मात्रै देखिन्छन् । यसलाई हेर्दा पुराना फुटपाथ व्यवसायीहरू दिगो रूपमा व्यवसाय गर्न नसकेको देखिन्छ । अर्थात फुटपाथी व्यवसायीहरू छोटो समयमै पलायन हुने गरेको समेत तथ्यांकले देखाउँछ ।

उत्तरदाताहरूमध्ये अधिकांशले रोजगारीका अवसरको अभावले फुटपाथ व्यवसायमा संलग्न भएको बताएका छन् । ८०% ले रोजगारीको अवसरको अभावले फुटपाथवमा व्यापार गरेको बताए । ११% ले पुँजी कम लाग्ने हुनाले र नौ प्रतितश उत्तरदाताले धेरै नाफा हुनाले फुटपाथ व्यवसायमा संलग्न भएको बताए । फुटपाथ व्यवसायमा संलग्न हुने कारणमा ८०% ले रोजगारीका अवसरको अभाव बताउनुले फुटपाथले स्वरोजगारी सिर्जना गरेको स्पष्ट हुन्छ । राज्य एवम् निजी क्षेत्रले पर्याप्त रोजगारी सिर्जना गर्न नसकिरहेको अवस्थामा फुटपाथ व्यवसायीहरू स्वरोजगार भइरहेको छन् ।

दैनिक १० घण्टाभन्दा बढी फुटपाथको व्यापारमा संलग्न हुने ५८% छन् भने ३३% व्यवसायीहरूले दैनिक सातदेखि १० घण्टासम्म व्यापारमा समय खर्च गर्ने बताए । दैनिक ६ घण्टासम्म मात्रै समय बिताउने ९% मात्रै थिए । तथ्यांकअनुसार धेरैजसो फुटपाथ व्यवसायीले आफ्नो अधिकांश कार्य समय फुटपाथ व्यवसायमा व्यतित गर्ने गरेका छन् । उत्तरदाताहरूमध्ये ९५% ले सधैँजसो व्यापारमा संलग्न हुने बताए । ५% व्यवसायीहरूले मौसमी रूपमा केही महिनामात्रै व्यवसायमा संलग्न हुने बताए जसमा मकै पोल्ने, आइसक्रिम बेच्ने लगायत थिए । ७१% ले आफू एक्लैले व्यवसाय गरिरहेका थिए । २९% व्यवसायीले भने परिवारका सदस्यलाई पनि आफूसँगै व्यवसायमा संलग्न गराएका थिए ।

उत्तरदाताहरूमध्ये ९२% ले स्थानीय बजारबाट सामग्री खरिद गर्ने बताए । सुर्खेतबाहिरको बजारबाट खरिद गर्ने र आफै उत्पादित बस्तु बेच्ने २÷२ % थिए । केही आफै र केही खरिद गरेर बेच्नेहरू (अन्य) ४% थिए । स्थानीय बजारबाट वस्तु खरिद गरी बिक्री गर्नुले स्थानीय बजारकै सक्रियता पनि बढ्छ । सधैँभरी एकै ठाउँमा व्यवसाय गर्ने ७१% थिए भने २४% ले व्यापार गर्ने ठाउँ परिवर्तन गरिरहने बताए । जसमध्ये अधिकांशले नगरपालिका र प्रहरीले हटाएर ठाउँ परिवर्तन गर्नुपरेको बताए । केहीले जता ग्राहक धेरै हुन्छन् त्यतै ठाउँ परिवर्तन गर्ने गरेको बताए ।

६३% ले व्यापार गर्ने ठाउँको लागि समस्या रहेको बताए । नगरपालिकाद्वारा हटाइसक्ने समस्या भएका १९% थिए । प्रहरीबाट दुरव्यवहार समस्या भएका उत्तरदाताहरू ८% र व्यापार कम हुने समस्या भएका ४% थिए । यी सबैजसो समस्या भएका ४% थिए । तथ्यांकअनुसार अधिंकाश फुटपाथ व्यवसायीले भोगेको प्रमुख समस्या भनेको उपयुक्त र सुरक्षित स्थानको अभाव हो ।

३८% ले आफूलाई वीरेन्द्रनगर नगरपालिकाले वास्ता नगरेको बताए । ३६% ले आफूहरू र व्यवसायलाई नराम्रो व्यवहार गरेको बताए । २६% ले नगरपालिकाले आफूहरूलाई ठीकै व्यवहार गरेको बताए । यस अध्ययनमा सहभागी भएका कसैले पनि नगरपालिकाले राम्रो व्यवहार गरिरहेको बताएनन् । फुटपाथ व्यवसायीहरूमध्ये ७% ले मासिक २५ हजारभन्दा बढी आम्दानी गरेको बताउँदा ४७% ले मासिक १५ देखि २५ हजारसम्म आम्दानी गर्ने गरेको बताए । ४४% ले मासिक १० देखि १५ हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेको बताए भने २% ले मासिक पाँचदेखि १० हजारसम्म आम्दानी गर्नेगरेको बताए । फुटपाथ व्यवसायबाट उनिहरूले उल्लेख्य मात्रामा आम्दानी गरिरहेको देखिन्छ ।

फुटपाथ व्यवसायीहरूले अधिकांशले आफूहरूले व्यवसाय गर्ने ठाउँ व्यवस्थापनको माग नगरपालिकासँग गरेका छन् । ७९% ले उचित स्थान व्यवस्थापनको माग गरे भने १६% ले फुटपाथ व्यवस्थापनको लागि वीरेन्द्रनगर नगरपालिकाले कानुन निर्माण गर्नुपर्ने माग गरे । ५% उत्तरदाताहरूले कानुन निर्माण र स्थान व्यवस्थापन दुवै गर्न माग गरे । यसर्थ नगरपालिकाले फुटपाथ व्यवसायीहरूलाई व्यवस्थित ठाउँको व्यवस्थापन गरी निर्धक्कसँग व्यवसाय गर्न पाउनेगरी कानुन निर्माण गर्न जरुरी देखिन्छ ।

(‘सुर्खेतको वीरेन्द्रनगरमा फुटपाथ व्यवसायको अवस्था, नीतिगत बाधा र समाधानका उपायहरू’ बारे ऋति फाउण्डेशनले गरेको अध्ययनको आधारमा यो आलेख तयार गरिएको हो । यस श्रृंखलामा चारवटा आलेख प्रकाशित हुनेछन् ।)