१४ माघ २०७९, शनिबार

यसरी गर्न सकिन्छ फुटपाथ व्यवसायको व्यवस्थापन


वीरेन्द्रनगरनगरमा फुटपाथ व्यवसायः ४

नेपालको संविधान, २०७२ को अनुसूचि ८ मा स्थानीय तहको अधिकारको सूचि उल्लेख गरिएको छ, जसमा स्थानीय बजार व्यवस्थापन पनि स्थानीय तहको अधिकारमा रहने लेखिएको छ । साथै स्थानीय करसमेत स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्दछ ।

नेपालको संविधानको मौलिक हक अन्तर्गत लेखिएको छ, ‘प्रत्येक नागरिकलाई नेपालको कुनै पनि भागमा पेसा, रोजगार गर्ने र उद्योग व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता हुनेछ ।’ यस अर्थमा नेपालको कुनै पनि भू–भागमा नेपाली नागरिकलाई निर्वाध रूपमा पेसा व्यवसाय गर्न पाउने अधिकार छ । संविधानमै उल्लेख गरिएको स्थानीय सरकारको अधिकार सूचिमा बजार व्यवस्थापन पनि पर्दछ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा संघीय तथा प्रदेश कानुनको अधिनमा रही विभिन्न कर लागू गरी उठाउन पाइने व्यवस्था छ । साथै स्थानीय पूर्वाधारको सेवा र उपयोगमा सेवा शुल्क र दस्तुर सम्बन्धी नीति र कानुन बनाउन तथा नियमन गर्न पाइने अधिकार स्थानीय तहलाई रहेको छ । संघीय तथा प्रदेश कानुनको अधिनमा रही सहरी विकास तथा व्यवस्थापन, बजार व्यवस्थापन र सोसम्बन्धी कानुन तथा निर्देशिका निर्माण गर्न पाइने व्यवस्था पनि सोही ऐनमा उल्लेख छ ।

संविधानले नै नागरिकहरूलाई रोजगारी तथा पेसा व्यवसाय गर्न पाउने अधिकार प्रदान गरेको छ । स्थानीय बजार व्यवस्थापन संविधानले स्थानीय सरकारको क्षेत्राधिकारभित्र राखेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा रहेर स्थानीय सरकारले फुटपाथ र अन्य बजार व्यवस्थापनका लागि नीतिनिर्माण गर्न पाउँछन् । यस आधारमा वीरेन्द्रनगरले फुटपाथ व्यवसायको उचित व्यवस्थापनका लागि नीतिगत व्यवस्था गर्न जरुरी छ ।

नेपालजस्ता धेरै विकासोन्मुख र अल्पविकसित देशहरूमा, रोजगारदाताहरूको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा संलग्न छन् । अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी सहरहरूको आधिकारिक तथ्यांकअनुसार, फुटपाथ व्यवसायीहरूले कूल सहरी अनौपचारिक रोजगारीको दुईदेखि २४ प्रतिशतसम्म ओगटेका छन् । अध्ययनहरूले देखाएअनुसार फुटपाथ व्यवसायीहरूले प्रहरीबाट सबैभन्दा धेरै यातना खेप्छन् । अध्ययनअनुसार ८६.६ प्रतितश फुटपाथ व्यवसायीहरू आफ्नो आम्दानीको स्रोतको रूपमा फुटपाथ व्यापारमा पूर्ण रूपमा निर्भर छन् । फुटपाथका प्रमुख कारणहरू वैकल्पिक रोजगारीका अवसरहरूको अभाव, घरायसी खाद्य सुरक्षा सुनिश्चित गर्न र अन्य गतिविधिहरूबाट आयलाई पूरक बनाउनु थियो । एक अध्ययनले फुटपाथ व्यवसायीको जीवनस्तरमा सुधार ल्याउन फुटपाथ व्यवसायले योगदान पु¥याएको निष्कर्ष निकालेको छ ।

फुटपाथ व्यवसायलाई सहजरूपमा व्यवस्थापन गर्न सकेमा समस्या नभइ स्रोत हुन सक्छन् । यसले गरिब जनतालाई काम, रोजगारी र जीविकोपार्जन प्रदान गर्दै आएको हुनाले यो बढ्दो बेरोजगारी दरलाई समाधान गर्ने स्रोत बन्न सक्छ । गरिब आप्रवासीहरूले कुनै न कुनै रूपमा आफ्नो पुँजीगत सम्पत्तिको विकास गरेका छन् तर सहरको वातावरणको शौन्दर्यलाई कसरी जोगाउने र व्यापारीहरूलाई दिगो रूपमा व्यापारको लागि ठाउँ उपलब्ध गराउने व्यवस्थापन र योजनाबारे सोच्नुपर्छ ।

विश्व बैंकको पछिल्लो प्रतिवेदनअवुसार नेपाल व्यवसाय गर्ने वातावरणमा ९४औँ स्थानमा पर्छ । व्यवसाय दर्ता गरेर सञ्चालन गर्न कानुनी तथा व्यवहारीक कठिनाइ रहेको कारण फुटपाथ व्यवसायमा मानिसहरू आकर्षित भइरहेका छन् । त्यसैले व्यवसाय दर्ता तथा सञ्चालनको लागि सहज वातावरण बनाउन जरुरी छ । व्यावसायिक वातावरणको सहजता भएमा फुटपाथ र अन्य अनौपचारिक क्षेत्रका व्यवसायीहरू सहजै औपचारिक उद्यममा प्रवेश गर्न सक्छन् ।

संघीयतापश्चात् नेपालमा गाउँगाउँमा स्थानीय सरकार निर्माण भएसँगै गाउँमा पनि बजार र सहरीकरण बढ्ने क्रम आएको छ । स्थानीयस्तरमा व्यापारका लागि बजारको विकास हुन थालेको छ । यस अर्थमा पनि फुटपाथ व्यवस्थापनका लागि नेपालका सहरदेखि गाउँसम्मका स्थानीय तहहरूले नीतिनिर्माण गर्न आवश्यकता महशुस भएको छ । यो आवश्यकतालाई जनप्रतिनिधिहरूले सहजै बुझेर नीतिगत समाधान खोज्न जरुरी देखिन्छ ।

व्यवस्थित फुटपाथ व्यवसायको वातावरण सिर्जना भएमा यहाँका नागरिकहरूलाई रोजगारी र आर्थिक क्रियाकलापमा संलग्न हुने अवसर सिर्जना हुन्छ । फुटपाथलाई व्यवस्थित गरी उनीहरूबाट राजस्व संकलन गर्ने नीति ल्याउन सके नगरपालिकालाई दोहोरो फाईदा हुने देखिन्छ । पहिलो फाइदा नगरकै वासिन्दाहरू आर्थीक क्रियाकलापमा संलग्न हुन्छन् जसले गर्दा उनीहरूको प्रतिव्यक्ति आय वृद्धि हुन्छ, जीवनयापन सहज हुन्छ, नगरपालिकाको बेरोजगारी दरमा कमि हुन्छ । अर्को तर्फ फुटपाथ व्यवसायीलाई व्यवस्थित गरि राजस्व प्रणालीमा ल्याउन सके नगरपालिकाको आन्तरिक आम्दानीमा पनि वृद्धि हुन्छ ।

वीरेन्द्रनगर नगरपालिकामा सञ्चालनमा रहेका व्यापार, व्यावसायिक फर्म तथा कम्पनी सञ्चालकको लिङ्गका आधारमा जनसंख्याको विश्लेषण गर्दा पुरुषको तुलनामा महिलाको स्वामित्वमा रहेका फर्महरूको संख्या आधाभन्दा पनि कम रहेको छ तर फुटपाथ व्यवसायमा भने महिलाहरूको संलग्ता बढी देखिन्छ । यसले महिला उद्यमशिलता तथा महिला शसक्तिकरणमा समेत सहयोग गर्दछ । फुटपाथ व्यवसायबाट मध्यम तथा न्युन आय भएकाहरूले नै फाइदा लिन्छन् ।

वीरेन्द्रनगर नगरपालिकामा फुटपाथ व्यवस्थापनका लागि सुझावहरूः

राजस्व प्रणालीमा ल्याउने

वीरेन्द्रनगर नगरपालिकाका विभिन्न ठाँउमा फुटपाथ व्यवसाय गरिरहेका फुटपाथ व्यवसायीहरूलाई फुटपाथबाट पूर्णरूपमा विस्थापित गर्नुले स्थानीय सरकार प्रति फुटपाथ व्यवसायीका साथै अन्य नागरिकहरूबाटै पनि नकारात्मक टिप्पणी आउन सक्छ । फुटपाथ व्यवस्थापनमा आर्थीक व्यवस्थापनको पक्षलाई नै हेरौँ न । फुटपाथ व्यवस्थापनको क्रममा हुने खर्चले नगरपालिकालाई थप व्ययभार पर्दैन । उनीहरू राजस्व प्रणालीमा आइसकेपछि उनीहरूले नगरपालिकालाई बुझाएको राजस्वले फुटपाथको व्यवस्थापन गर्न प्रर्याप्त हुन्छ ।

फुटपाथ व्यवस्थापन समिति निर्माण गर्ने

फुटपाथ व्यवस्थापनको लागि प्रहरी परिचालन गर्नुभन्दा पनि नगरपालिकाकै पदाधिकारीको नेतृत्वमा फुटपाथ व्यवसायी सहितको समिति निर्माण गर्नु उपयुक्त हुन्छ । यसले गर्दा फुटपाथ व्यवसायीलाई पनि अपनत्वको महशुस हुन्छ । तथ्यांकहरू हेर्दा दक्षिण एसियाका अधिकांश देशका प्रहरीसँग नागरिकहरू रुष्ट हुने र प्रहरीको हस्तक्षेपलाई राजनीतिक मुद्दा बनाउने गरेको देखिन्छ । त्यसकारण प्रहरीभन्दा पनि नगरपालिकाको निर्वाचित जनप्रतिनिधीको नेतृत्वमा फुटपाथ व्यवस्थापन समिति बनाउनु उपयुक्त हुन्छ । फुटपाथ व्यवस्थापन समितिले निम्नबमोजिमका जिम्मा दिइनुपर्छ ।

  • समितिमा फुटपाथ व्यवसायीलाई समावेश गर्ने ।
  • फुटपाथ व्यवसायका लागि क्षेत्र निर्धारण गर्ने र फुटपाथको वर्गिकरण गर्ने ।
  • फुटपाथ व्यवसाय दर्ता, खारेज गर्न सिफारिस गर्ने ।
  • क्षेत्रफलका आधारमा फुटपाथ व्यवसायीले शुल्क तिनुपर्ने व्यवस्था गर्ने ।
  • फुटपाथबाट प्राप्त राजश्वले फोहोर व्यवस्थापन गर्ने, बटुवाका लागि सहज हुने संरचना निर्माण गर्ने
  • फुटपाथमा व्यवसाय गर्न न्यूनतम् मापदण्ड निर्धारण गर्ने ।
  • फुटपाथ विक्रेताको परिचयपत्र अनिवार्य गर्ने ।
  • परिचयपत्र नभएमा उक्त फुटपाथ व्यवसायीलाई उक्त समितिले जतिसुकै बेला जरिवाना गर्न सक्ने ।

फुटपाथको वर्गीकरण

वीरेन्द्रनगर नगरपालिकामा पनि इन्डानेसियाको बङडुङ सहरमा जस्तै फुटपाथलाई तीन प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।
रेड जोन (फुटपाथको लागि पुर्ण रूपमा निषेधित क्षेत्र)ः गणेशचौकदेखि मंगलगढी चोकसम्मको मुख्य सडक, बुद्धपथ सडक, वीरेन्द्रचोकबाट एरिचोक जाने सडक, जुम्लारोडलगायत वडा नम्बर ६ मा पर्ने अधिकांश फुटपाथ ।

एल्लो जोन (समयअनुसार आंशिक रूपमा फुटपाथ व्यवसायको लागि उपयुक्त क्षेत्र)ः हटियाचोकदेखि शिक्षा क्याम्पससम्म पुग्ने सडक (१० वजेदेखि ४ बजेसम्म उपयुक्त), पिपलचौतारा वरिपरीको क्षेत्र (१० बजेदेखि ४ बजेसम्म उपयुक्त) लगायत विद्यालय र प्रमुख प्रशासनिक भवनहरूको नजिक र निश्चित समयमा आवतजावत धेरै हुने स्थानहरू ।

ग्रिन जोन (जुनसुकै समयमा पनि फुटपाथ व्यवसायको लागि उपयुक्त क्षेत्र)ः खाली चौरहरू, घण्टाघरको पश्चिम पर्खाल पछाडी रहेको खाली सडक, जिल्ला प्रहरी कार्यालय अगाडिदेखि कालिञ्चौकसम्मको धेरै चौडाइ भएको हटलाइन सडक, घण्टाघरदेखि नगरपालिकासम्मको सडकको कुइनेपानी जंगलतिरको क्षेत्र, गणेशचौक, आँखा अस्पताल अगाडि, मंगलगढीदेखि लाटिकोइली जाने बाटोको पूर्व साइड, श्री कृष्णसंस्कृत विद्यालय नजिक, सुर्खेत उपत्यका खानेपानीको कार्यालय अगाडि आदि कम सवारी चाप हुने स्थान ।

परिचयपत्रको व्यवस्था

फुटपाथको वर्गिकरण गरिसकेपछि नगरपालिकाको एल्लो जोन र ग्रिन जोनमा पर्ने फुटपाथमा व्यवसाय गर्ने फुटपाथ व्यवसायीहरूलाई नगरपालिकामा दर्ता हुने व्यवस्था गर्न सकिन्छ । दर्ता भएसँगै उनीहरूलाई व्यवसाय सन्चालनको प्रमाणपत्र वा परिचयपत्र प्रदान गर्ने र समयसमयमा उक्त स्थानमा फुटपाथ व्यवसायीहरूले परिचयपत्र राखे वा नराखेको अनुगमन गर्न सकिन्छ ।

बटुवाको लागि संरचना

फुटपाथमा व्यवसाय गर्न दिँदा त्यसको सबैभन्दा ठूलो प्रभाव पर्ने भनेको बटुवालाई हो । फुटपाथ व्यवसायबाट उठेको राजस्वलाई फुटपाथ पैदलयात्रीको लागि सहज हुने संरचना निर्माणमा खर्च गर्नु उपयुक्त हुन्छ ।

(‘सुर्खेतको वीरेन्द्रनगरमा फुटपाथ व्यवसायको अवस्था, नीतिगत बाधा र समाधानका उपायहरू’ बारे ऋति फाउण्डेशनले गरेको अध्ययनको आधारमा यो आलेख तयार गरिएको हो । यो अन्तिम आलेख हो ।)