१९ माघ २०७९, बिहीबार

इन्टेग्रीटी आइकन नेपाल २०२२ बाट पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित


अकाउन्टविलिटी ल्याब नेपालले नवौँ संस्करण मार्फत पाँच जना इमानदार कर्मचारीलाई सम्मानित गरेको छ।

इन्टेग्रीटी आइकन नेपाल २०२२ बाट यस वर्षका पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएका हुन् । सम्मानित हुनेमा सडक विभागका इन्जिनियर कल्पना अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ कृषि अनुसन्धान अधिकृत, मोहनकृष्ण महर्जन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगत लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख रोशनी देवी कार्की, सीमा प्रशासन कार्यालय, नाम्चेमा कार्यरत शाखा अधिकृत, सुजन कुमारी बर्देवा, र जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तरगत प्रदेश अस्पताल सर्लाहीमा कार्यरत प्रहरी हवलदार राजेश साह जयसवाल रहेका छन् ।

निर्वाचनको समय भएकोले यस वर्षको सम्मान कार्यक्रम सीमित व्यक्तिको उपस्थितिमा सम्पन्न गरिएको थियो । १०० जनाको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रसारण हजारौँ व्यक्तिले हेरेकाे आयोजक संस्थाकी अस्मिता शर्माले वताइन्।

पाँच जना आईकन सार्वजनिक भइसकेपछि उनीहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्ला स्थित सञ्जाल पनि परिचालन गरिएको थियो ।

सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाइटलबाट अवार्ड गरिएको थियो । जस अन्तरगत, कल्पना अधिकारी”Led by Example”, मोहनकृष्ण महर्जन”Symbol of Dedication”, रोशनी देवी कार्की”Voice Against Injustice”, सुजन कुमारी बर्देवा”Practical in Action”, र राजेश साह जयसवाल “Grounded with Values” टाइटलबाट सम्मानित भएका थिए ।

“ईन्टेग्रिटी आईकन २०२२” बाट सम्मानित हुने पाँचै जनालाई बधाई तथा शुभकामना दिँदै कार्यक्रममा “ईन्टेग्रिटी आईकन २०२१” मनमाया भट्टराई पङ्गेनीले  सेवा प्रवाह गर्दा बोली व्यवहार र शैलीको माध्यमबाट जिम्मेवारी पुरा गर्नुपर्ने वताइन्।