१६ माघ २०७९, सोमबार

तीन वर्षमा ह्वात्तै घटे फुटपाथ व्यवसायी


सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा फुटपाथ व्यवसायको अवस्थासम्बन्धी अनुसन्धान प्रतिवेदन प्रकाशित भएको छ। कर्णाली प्रदेशमा आर्थिक तथा नीतिगषत विषयमा अध्ययन, अनुसन्धान, बहस तथा पैरवी गर्दै आइरहेको ऋति फाउण्डेसनले उक्त अनुसन्धान गरेको हो। अनुसन्धान विशेषगरी वीरेन्द्रनगरमा रहेका फुटपाथ व्यवसायीहरुको अवस्था, नीतिगत बाधाहरु र समाधानका उपायहरुमा केन्द्रित रहेको फाउण्डेसनका निर्देशक दिनेश गौतमले बताए।

तीन वर्षमा ह्वात्तै घटे फुटपाथ व्यवसायी

वीरेन्द्रनगर नगरपालिकाको तथ्यांकअनुसार २०७६ सालमा ७०० जना फुटपाथ व्यवसायी रहेकोमा हाल २२० जना मात्रै व्यवसायी रहेको उक्त अध्ययनमा उल्लेख गरिएको छ। नगरपालिकाले विभिन्न नीतिगत बाधाहरु सिर्जना गर्ने तथा व्यवसायीका लागि उपर्युक्त नीति निर्माण गर्न नसक्दा ठुलो संख्यामा फुटपाथ व्यवसायीहरु फुटपाथ व्यवसायबाट पलायन भएको उकत्त अध्ययनले निष्कर्ष निकालेको छ।

फुटपाथ व्यवसायले महिला उद्यमशिलता वृद्धी गर्न सहयोग गरेको निष्कर्ष

अध्ययनले फुटपाथ व्यवसायले वीरेन्द्रनगरमा महिला उद्यमशिलता वृद्धी गर्न सहयोग गरेको निष्कर्ष निकालेको छ। अध्ययनमा गरिएको सर्भेअनुसार ६१ प्रतिशत महिला फुटपाथ व्यवसायमा संग्लग्न हुँदा ३९ प्रतिशत पुरुष फुटपाथ व्यवसाएमा संग्लग्न भएको उल्लेख गरिएको छ।

अध्ययन प्रतिवेदनमा ८० प्रतिशत व्यवसायीले रोजगारीको अवसर अभावमा फुटपाथ व्यवसायमा संग्लग्न भएको नतिजा प्रस्तुत गरिएको छ। सर्भेमा कम लागतमा व्यवसाय गर्न सकिने हुनाले ११ प्रतिशत र नाफा राम्रो हुने भएकोले ९ प्रतिशतले फुटपाथ व्यवसायमा संग्लग्न भएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

फुटपाथ व्यवसायबाट ४७ प्रतिशत व्यवसायीहरुले मासिक १५ देखि २५ हजारसम्म आम्दानी गर्ने गरेको निष्कर्ष अध्ययन प्रतिवेदनमा निकालिएको छ। अध्ययनमा ७ प्रतिशतले मासिक २५ हजारभन्दा बढी आम्दानी गर्ने गरेको तथ्यांक प्रस्तुत गरिएको छ।

अध्ययन प्रतिवेदनले वीरेन्द्रनगर नगरपालिकाले फुटपाथ व्यवसायको नीतिगत व्यवस्थापन गरी आर्थिकोपार्जनमा नागरिकहरुलाई जोडी राजश्व वृद्धी गर्न सुझाएको छ।